इंग्ल्यान्डका ब्याटर जोहन सिम्पसन काठमान्डु गोर्खाजबाट एनपिएल खेल्ने

 संवाददाता    २०८२, १९ कार्तिक मंगलवार ११:४९     107 जनाले पढ़िसके



Spread the love

इंग्ल्यान्डको राष्ट्रिय टोलीबाट खेलिसकेका जोहन सिम्पसनले काठमान्डु गोर्खाजबाट नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने भएका छन्।

काठमाडौँ स्पोर्टस डेभलपमेन्ट भेन्चर्स प्रालिको स्वामित्वमा रहेको काठमान्डु गोर्खाजले एनपीएल २ का लागि सिम्सनलाई अनुबन्ध गरेको हो।

३७ वर्षे सिम्पसनले इंग्ल्यान्डबाट ३ एकदिवसीय अन्तराष्ट्रिय खेलिसकेका छन्।

सन् २०२१ मा पाकिस्तानले गरेको बेलायत भ्रमणमा उनले यो सबै ३ खेल खेलेका थिए। लर्डसमा पाकिस्तानविरुद्धको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रियमा सिम्पसनले १७ रन बनाउनाका साथै ५ क्याच लिएका थिए।

‘जोहन सिम्पसनले आफ्नो प्रमाणित नेतृत्व क्षमता, अनुभव र संयमता यस समूहमा लिएर आउने छन्, देब्रेहाते विकेटकिपर-ब्याटर उनले काउन्टीमा वर्षौदेखि सफलता पाउँदै आएका छन्,’ काठमान्डु गोर्खाजका मुख्य प्रशिक्षक मोन्टी देसाईले सिम्पसनबारे भने, ‘उनी अहिले ससेक्सको नेतृत्व पनि गरिरहेका छन्। उनको व्यावसायिकता र शान्त स्वभाव अमूल्य छ। काठमान्डु गोर्खाज परिवारमा उनलाई आबद्ध गर्न पाउँदा हामी निकै खुसी छौँ र उनको आगमनले हाम्रो ब्याटिङ र विकेटकिपिङलाई थप मजबुत बनाएको छ।’

सिम्पसनसँग इंग्ल्यान्डको घरेलु क्रिकेटमा ५ सय ४२ खेलमा १६ हजार ५ सयभन्दा बढि रन बनाएको अनुभव छ। २२९ प्रथम श्रेणीका खेलमा उनले १९ शतकसहित ११ हजार ३ सय ५१ रन बनाएका छन्।

सेप्टेम्बरको अन्तिम सातामा उनले ससेक्सको कप्तानी गर्दै वोरसेस्टरसायरविरुद्ध प्रथम श्रेणीमा अविजित १२९ रन बनाएका थिए। यो उनको पछिल्लो खेल थियो।

त्यस्तै उनले ११५ लिस्ट ‘ए’ खेलमा १२ अर्धशतकसहित २ हजारभन्दा बढी रन बनाएका छन्। ट्वान्टी-२० मा उनले १९५ खेलमा झन्डै १३० को स्ट्राइक रेटमा ३ हजारमाथि रन बनाएका छन्। ससेक्सअघि उनले मिडलसेक्सबाट काउन्टी क्रिकेट खेलेका थिए।

उनले द हन्ड्रेडमा लांकसायर स्प्रिट र नर्थन सुपरचार्जसबाट खेलिरहेका छन्। भाइटालिटी ब्लास्टमा उनले २००९ देखि खेलिरहेका छन्।

राजधानीको टोलीले भित्र्याएका उनी पाँचौँ विदेशी खेलाडी हुन्।

यसअघि काठमान्डु गोर्खाजले इंग्ल्यान्डमा खेलिरेहका दक्षिण अफ्रिकाका विकेटकिपर-ब्याटर रिकार्डो भास्कोनेसेलोस, नामिबियाका कप्तान जेरहार्ड इरसमस, अमेरिकी ब्याटर मिलिन्द कुमारलाई र इंग्लिस काउन्टी खेलिरहेका बेन चाल्सवर्थलाई आउँदो सिजनको एनपीएलका लागि अनुबन्धन गरिसकेको छ।