गैरकानूनी सम्पत्ति आर्जन अभियोगमा वन कार्यालय भोजपुरका हाकिमविरुद्ध मुद्दा दायर

 संवाददाता    २०८२, १८ कार्तिक सोमबार १५:५४     102 जनाले पढ़िसके



Spread the love

डिभिजन वन कार्यालय, भोजपुरमा कार्यरत अधिकृत दानबहादुर श्रेष्ठविरुद्ध गैरकानूनी सम्पत्ति आर्जन अभियोगमा विशेष अदालतमा मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज वन श्रेष्ठविरुद्ध १ करोड ४३ लाख १८ हजार ९३७ बिगो दाबीसहित मुद्दा दायर गरेको हो ।

श्रेष्ठले इलाममा कार्यरत रहँदा पदीय पदको दुरुपयोग गरी गैरकानूनी लाभ लिएको उजुरीको आधारमा अख्तियारले छानबिन थालेको थियो ।

२०४८ साल असार २६ मा नियुक्त श्रेष्ठले २०८० फागुन १६ गतेसम्म बुझाएको सम्पत्ति विवरण फाराम अनुसन्धान गर्दा उनी र परिवारका सदस्यहरूले २ करोड १६ लाख २५ हजार ५५७ रूपैयाँ आम्दानी गरेको र सोही अवधिमा ३ करोड ६० लाख ४ हजार ९५ रूपैयाँ खर्च गरेको देखिएको भन्दै अख्तियारले आम्दानी-खर्चबीच तालमेल नमिलेको जनाएको छ ।

स्रोत नखुलेको १ करोड ४३ लाख १८ हजार ९३७ रूपैयाँ बिगो दाबीसहित मुद्दा दायर गरिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले बताए । श्रेष्ठले वार्षिक सम्पत्ति विवरणमा झुठ्ठा जानकारी दिई सम्पत्ति लुकाएको समेत अभियोग पत्रमा उल्लेख छ ।

यसैगरी श्रेष्ठकी पत्नी नरमाया श्रेष्ठ, बुहारी भावना बरुवाल र उनी सञ्चालक रहेको फरेष्ट एण्ड इन्भारोमेन्ट रिसर्च अर्गनाइजेशन प्रालि भक्तपुरलाई पनि गैरकानूनी सम्पत्ति जफतका लागि प्रतिवादी बनाइएको छ ।