सहरी विकासमन्त्री कुलमान घिसिङले १५ दिनभित्र माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि बञ्चरेडाँडाका स्थानीयवासी काठमाडौँको फोहोर फाल्न दिन सहमत भएका छन्।
काठमाडौँको फोहोर लैजान स्थानीयले अवरोध गरेपछि आइतबार बिहान मन्त्री घिसिङ बञ्चरेडाँडास्थित ल्याण्डफिल्ड साइट पुगेका थिए। त्यहाँ स्थानीयसँगको छलफलमा उनले स्थानीयका माग अबको १५ दिनभित्र पूरा गर्ने आश्वासन दिएका हुन्।
मन्त्री घिसिङको प्रतिबद्धतापछि बञ्चरेडाँडास्थित ल्याण्डफिल्ड साइटमा फोहोर फाल्न दिन स्थानीय सहमत भएका छन्।
स्थानीयले अवरोध गर्दा गएको पाँचदिनदेखि काठमाडौँ महानगरपालिकाले फोहोर फाल्न सकेको छैन। स्थानीयले विभिन्न माग राखेर फोहोर व्यवस्थापनमा अवरोध गरेपछि काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा फोहोर फाल्न नसकेको हाे।
महानगरपालिकाले शुक्रबार सूचना जारी गरी फोहोर घर बाहिर ननिकाल्न महानगरबासीलाई आग्रह गरेको थियो। शुक्रबार शहरी विकास मन्त्रालयमा प्रभावित क्षेत्रका पालिकाका जनप्रतिनिधिसहित सरोकारवालासँग छलफल भएको थियो।
मन्त्रालयमा भएको छलफल प्रभावकारी नभएपछि मन्त्री घिसिङ आज आफैँ बञ्चरेडाँडा पुगेका हुन्।
स्थानीयबासी र ककनीका जनप्रतिनिधिसँगको छलफलमा मन्त्री घिसिङले हालसम्म गरिएका सहमति १५ दिनभित्र पूरा गर्ने प्रतिबद्धता जनाएका बताइएको छ।