गोरखा, १६ कार्तिक ।
निराज भट्ट — गोरखा आरुघाट सडकखण्डअन्तर्गत गोरखा नगरपालिका–२ स्थित कोखे आहाले भञ्ज्याङ नजिकको सडक भाग फेरि धसेको छ। स्थानीयका अनुसार करिब एक वर्षअघि करोडौं रुपैयाँ खर्चेर सडकको स्तर उन्नति गरिएको भए पनि अहिले उक्त सडक करिब ७–८ मिटर तल झरेको छ।
स्थानीय बासिन्दाहरूको भनाइमा सो स्थानमा ‘दैविक शक्ति’ नागदेवीको वास रहेको मानिन्छ। उनीहरूको विश्वास अनुसार धार्मिक स्थलप्रति बेवास्ता र पूजाआजाको कमीका कारण यो स्थानमा बारम्बार विपत्ति आइरहेको हो।
यसैबीच, प्राविधिक पक्षका विज्ञहरूले भने सडक निर्माणको गुणस्तर, उचित ढल निकासको अभाव र कमजोर भूगर्भीय संरचनाका कारण यस्तो समस्या दोहोरिइरहेको बताएका छन्।
सडक धसिँदा सवारीसाधन आवागमनमा कठिनाइ भएको छ भने स्थानीयवासीको दैनिकी पनि प्रभावित भएको छ। उनीहरूले सम्बन्धित निकायलाई तत्काल सडक मर्मतका साथै धार्मिक र सांस्कृतिक स्थलको संरक्षणमा ध्यान दिन आग्रह गरेका छन्।
— निराज भट्ट, गोरखा