निजी क्षेत्रमाथिको आक्रमण राष्ट्रिय सम्पत्तिमाथिको आक्रमण हो- अर्थमन्त्री खनाल

 संवाददाता    २०८२, १५ कार्तिक शुक्रबार १३:३०     111 जनाले पढ़िसके



Spread the love

अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रमाथिको आक्रमण राष्ट्रिय सम्पत्तिमाथिको आक्रमण भएको बताएका छन् । काठमाडौंमा आयोजना गरिएको ‘क्यापासिटी बिल्डिङ फर फिमेल इकोनोमिक जर्नालिस्ट’ कार्यक्रममा बोल्दै अर्थमन्त्री खनालले यस्तो बताएका हुन् ।

निजी क्षेत्रले सिर्जना गरेको भौतिक सम्पत्ति राष्ट्रको सम्पत्ति भएको बताउँदै उनले त्यसमाथिको आक्रमणले देशको लगानीको वातावरण बिगार्ने बताए । उनले सञ्चारमाध्यमले ‘सम्पत्ति’ र ‘स्वामित्व’बीचको भिन्नता स्पष्ट रूपमा बुझेर समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिए ।

खनालले गलत सूचना र हेडलाइनका कारण बजारमा अनावश्यक रूपमा नकारात्मक वा सकारात्मक प्रभाव पर्ने गरेको उल्लेख गर्दै यसले लगानीकर्तालाई निरुत्साहित गर्ने बताए ।

उनले भने, ‘कुनै पनि निजी क्षेत्रले सिर्जना गरेको भौतिक पूर्वाधार, चाहे त्यो भाटभटेनी होस्, हिल्टन होटेल होस् वा कुनै गाडीको शोरुम, त्यो राष्ट्रको सम्पत्ति हो । स्वामित्व हस्तान्तरण हुन सक्छ, तर सम्पत्ति यहीँ रहन्छ । उनीहरूमाथि आक्रमण हुनु भनेको राष्ट्रिय सम्पत्तिमाथि आक्रमण हुनु हो ।’

एनसेलको उदाहरण दिँदै स्वामित्व परिवर्तन हुँदैमा कम्पनीले सिर्जना गरेको भौतिक संरचना र सम्पत्ति देशबाहिर नजाने उनको तर्क छ । ‘स्वामित्व हिजो टेलियासोनेराको थियो, छोडेर गयो, आज आजियाटा आयो, उसले पनि भोलि छोडेर जाला । तर, एनसेलले बनाएको सम्पत्ति यहीँ रहन्छ’, अर्थमन्त्री खनाले अगाडी भने, ‘स्वामित्वमा भएको कुनै गल्तीको कारणले हामीले सम्पत्तिमाथि नै क्षति पुर्याउनलाई प्रोत्साहन गर्नु हुँदैन ।’

विदेशी लगानी आयो भने विदेशीले लुटेर लैजान्छन् भन्ने भाष्य निर्माण भइरहेको समेत उनले गुनासो गरे । तर लगानीकर्ताले लुटे, बर्बाद पारे भन्नेजस्ता अनावश्यक मुद्दाले लगानीको वातावरण बिग्रने समेत बताए ।

सही सूचना र विश्लेषणका आधारमा समाचार सम्प्रेषण गरेर देशमा लगानीको वातावरण बनाउन सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण हुने अर्थमन्त्री खनाललेको भनाई छ ।