दक्षिण कोरियामा भएको वार्तापछि डोनाल्ड ट्रम्प र सी चिनफिङ दुई देशबीच जारी व्यापार युद्धलाई थप एक वर्ष विश्राम दिन सहमत भएका छन्।
अमेरिकाले चिनियाँ सामानमा लगाएको भन्सार महसुल केही घटाएको छ भने सेमिकन्डक्टर निर्यातमा लगाएको प्रतिबन्ध पनि खुकुलो पारेको छ। बदलामा चीनले दुर्लभ खनिज निर्यातमा लगाएको प्रतिबन्धलाई एक वर्षका लागि रोक्ने भएको छ। त्यस्तै अमेरिकाबाट भटमास आयात पनि बढाउने भएको छ।
वार्तापछि ट्रम्पले चिनियाँ सामानमा लगाउँदै आएको भन्सार ५७ प्रतिशतबाट ४७ प्रतिशतमा झार्ने बताए। उनले सेमिकन्डक्टरका विषयमा चीन र अमेरिकी कम्पनी एनभिडियाबीच छलफल हुने बताए।
‘हामी चिप्सबारे छलफल गर्यौँ। उनीहरू एनभिडिया र अरु कम्पनीसँग यसबारे कुरा गर्नेछन्,’ ट्रम्पले भने, ‘हामी मध्यस्थकर्ता वा रेफ्री मात्र हौँ।’
यद्यपि, सबैभन्दा आधुनिक सेमिकन्डक्टरबारे कुरा नभएको उनको भनाइ छ।
ट्रम्पले व्यापार युद्ध सुरु गरेपछि चीनले अमेरिकाका लागि दुर्लभ खनिज रोक्का गरेको थियो। सहमतिपछि त्यो प्रतिबन्धलाई निलम्बन गर्ने चीनले जनाएको छ।
त्यस्तै अमेरिकाले चीनको समुद्री, बन्दोबस्ती तथा पानीजहाज निर्माण उद्योगहरूविरुद्ध लगाएको प्रतिबन्ध पनि एक वर्षलाई निलम्बन गरेको छ।
ट्रम्प–सी वार्ताको यो नतिजालाई विश्लेषकहरूले व्यापार युद्धमा चीनको जितका रुपमा अर्थ्याउन थालेका छन्।
‘दुवै पक्षले केही न केही पाए। तर, उनीहरू फरकफरक दाउ बोकेर आएका थिए,’ लगानी विश्लेषक जेसन बेडफोर्डको भनाइ बीबीसीले उधृत गरेको छ, ‘चीनको हात बलियो थियो।’ एजेन्सी