सरकारले गरेको बजेट कटौतीमा संसदीय समितिले चासो देखाएको छ।
संघीय सरकारले टुक्रे योजनाहरूका बजेट कटौती गर्ने निर्णय गरेको थियो। उक्त निर्णयप्रति बिहीबार बसेको राष्ट्रिय सभा अन्तर्गतको, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले चासो देखाएको हो।
समितिका सभापति सोनाम गेल्जेन शेर्पाले नियमित विनियोजित बजेट धेरै बजेटहरू कटौती भएकोले त्यस सम्बन्धमा सरकारको ध्यानकर्षण गराउने बताए। कुन आधारमा बजेट कटौती गरिएको भन्ने बारेमा समितिले सरकारसँग प्रष्टिकरण माग्ने उनले जानकारी दिए।
उनले समितिले फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा हुने शान्ति सुरक्षा, माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचनका अवस्थाका बारेमा पनि सरकारसँग बुझ्ने प्रयास गर्ने बताए।
उनले भने, ‘राष्ट्रिय सभाको निर्वाचन माघ ११ गते हुन्छ, त्यसको अवस्था के छ, शान्ति सुरक्षाको विषयमा के छ, त्यो सम्बन्धमा पनि हामी सरकारसँग बुझ्ने प्रयास गर्छौं। निरन्तर भइरहेको बजेटहरुको सम्बन्धमा पनि धेरै बजेटहरू कटौती भएको छ, के भएको छ, त्यो सम्बन्धमा पनि सरकारको ध्यानकर्षण गराउने र त्यो कटौतीका आधारहरु के के हो भनेर सरकारसंग सोध्न हामी प्रयास गर्छौं।’
सभापति शेर्पाले बैठकमा समितिले विगतमा बनाएको कार्ययोजना र परिवर्तित समयपश्चात आगामी दिनका कसरी जाने भन्ने विषयमा छलफल जानकारी दिए। उनले समितिमा विगतमा भइरहेका छलफलहरूलाई पनि आवश्यकताको आधारमा आगामी दिनमा पनि निरन्तरता दिने बताए।
समितिमा आएका विषयहरुलाई छलफल गरेर कार्यन्वयनका लागि सरकारकालाई निर्देशन दिने उनको भनाई छ।
उनले भने, ‘हाम्रो पहिले नै निरन्तर चलिरहेको विषय छ, राष्ट्रिय गौरवका आयोजनाहरूको सम्बन्धमा, निर्वाचन आयोगको सम्बन्धमा, आयोगहरुको सम्बन्धमा, संविधानको सम्बन्धमा, संविधानका केही बुँदाहरूमा सम्बन्धमा पनि हामीले विगतमा धेरै छलफलहरु गरेका थियौँ तर अब परिवर्तित समयमा हामी कसरी जान्छौँ भनेर हाम्रो फोकस भनेको कसरी निर्वाचनमा शान्ति सुरक्षाहरु कसरी हुन्छ, के हुन्छ?’
उनले राष्ट्रिय सभाको बैठक पनि छिट्टै सञ्चालन हुने बताए। बैठक सञ्चालनको लागि राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले पहल गरिरहेको उनको भनाई छ। जेन-जी आन्दोलन पश्चात पहिलो पटक समितिको बैठक बसेको हो।