मुस्ताङमा भारी हिमपात, सवारी आवागमनमा कठिनाइ

 संवाददाता    २०८२, १३ कार्तिक बुधबार ११:००     76 जनाले पढ़िसके



Spread the love

मुस्ताङ । आज बिहानैदेखि भएको भारी हिमपातका कारण चराङ-लोमान्थाङ सडकमा सवारी आवागमनमा समस्या उत्पन्न भएको छ ।

चराङ-लोमान्थाङ खण्डको नेपाली सेनाको ब्यारेक रहेको थुर्लुङफाँटदेखि लोमान्थाङसम्मको पाँच किलोमिटर सडकमा हिमपातका कारण सवारी आवागमनमा कठिनाइ भएको प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाले जानकारी दिए ।

“चराङ-लोमान्थाङ सडकमा उक्त सडकमा आठ इञ्चसम्म हिउँ जमेकाले आवागमन असहज भएको छ ”, प्रहरी नायब उपरीक्षक लामाले भने ।

मङ्गलबार लोमान्थाङ-२ न्हेचुङस्थित सशस्त्र प्रहरी बोर्डर आउटपोस्ट बिओपीका सुरक्षाकर्मीहरुले छोसेर-कोरला सडकमा जमेको हिउँ पन्छ्याएका थिए । यसैगरी हिमपातका कारण असहज बनेको कागबेनी-मुक्तिनाथ सडक हाल सञ्चालन भएको उनले बताए ।

मङ्गलबार दिनभर परेको हिमपातका कारण उपल्लो मुस्ताङदेखि तल्लो मुस्ताङसम्मका डाँडाकाँडा हिउँले सेताम्मे छन् । मङ्गलबार उपल्लो मुस्ताङको घमीदेखि कोरलासम्म र मुक्तिनाथ क्षेत्रमा भारी हिमपात भएको थियो । भारी हिमपातका कारण स्थानीय जनजीवन प्रभावित भएको छ ।