काग तिहार: रमेश दुलालले नारायणहिटी दरबार सङ्ग्रहालय अगाडि यसरी भेला गरे काग

 संवाददाता    २०८२, ३ कार्तिक आईतवार १०:५५     77 जनाले पढ़िसके



Spread the love

काग तिहारका अवसरमा कलाकार रमेश दुलाल ‘कागे’ले राजधानीको नारायणहिटी दरबार सङ्ग्रहालयद्वार अगाडि ‘२२औँ काग सम्मेलन’ गरेका छन्।

टप राजधानी रोधी र ग्रीनसिटी अस्पताल वसुन्धाराको सहआयोजनामा भएको कार्यक्रममा दुलालले आफ्नो विशेष कला प्रस्तुत गर्दै कागलाई बोलाएका थिए।

आइतबार बिहान पौने ६ बजे सुरु भएको कार्यक्रममा उनले कागको आवाज निकाल्नासाथ काग भेला भएका हुन्।

दुलाल कागसहित १७३ प्रकारका जनावर र चराचुरुङ्गीका आवाज नक्कल गर्न सक्छन्। उनीसँग मुखकै सहायताले मादल, सनाई, सारङ्गी, पियानो, ड्रम सेट, मुर्चुङ्गा र गितारको धुन निकाल्ने कला पनि छ।

दुलालले विगतका वर्षहरूमा कहिले रत्नपार्कस्थित शान्ति बाटिकामा, कहिले विमानस्थल परिसरमा, त कहिले सामाजिक सन्देशसहित ‘काग सम्मेलन’ गर्दै आएका थिए।

‘काग तिहारको दिन काग सम्मेलन गर्न थालेको अहिले २२ वर्ष भयो। कागलाई यमराजको दूतका रूपमा मानिन्छ। यसपटक भने शुद्ध सांस्कृतिक उद्देश्यले यो सम्मेलन गरेको हुँ,’ दुलालले भने।

काग तिहारलाई धार्मिक र सांस्कृतिक दुवै अर्थमा मनाइने परम्परालाई जोगाउन तथा जनचेतना जगाउन दुलालको यो कार्यक्रमलाई उपस्थित दर्शकहरूले सराहना गरेका छन् भने बहुप्रतिभाको धनी दुलालको चर्चा भएको छ।

कार्यक्रमको मुख्य प्रायोजकमा मोर्डन राप्ती रियल स्टेट र भरत विश्वकर्मा थिए भने सहप्रायोजकमा ह्याम्स हस्पिटल, शङ्करप्रसाद आचार्य, चुडा मैनाली, होराइजन स्पा, नौकरी नेपाल र शान्ति तथा ग्रामीण विकास केन्द्र नेपाल रहेका थिए। रासस