चुनावको वातावरण बनाउन दलहरूसँग संवादको सुरुवात भएको छ : प्रधानमन्त्री कार्की

 संवाददाता    २०८२, २ कार्तिक शनिबार १८:३४     90 जनाले पढ़िसके



Spread the love

प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते निर्धारण गरिएको प्रतिनिधि सभा निर्वाचन सम्पन्न गर्ने तयारी सन्तोषजनक रूपमा अघि बढिरहेको बताएकी छिन्।

शनिबार राष्ट्रपति निवासमा चारवटै सुरक्षा निकायसँगको छलफलपछि उनले एक्समा लेखेकी छिन्, ‘तयारी अझै द्रुततर गतिमा अघि बढाइँदै छ। सहज राजनीतिक निकासका लागि निर्वाचन सम्पन्न गर्न सबै पक्ष जिम्मेवार र ऐक्यबद्ध रहौँ।’

प्रधानमन्त्री कार्कीका अनुसार राजनीतिक तहबाटै चुनावको वातावरण बनाउन पहल सुरु भइसकेको छ र दलहरूसँग संवादको सुरुवात भएको छ। ‘चुनावको वातावरण बनाउन राजनीतिक तहबाटै पहलकदमी लिइएको छ,’ उनले लेखेकी छिन्, ‘राजनीतिक दलहरूसँग संवादको सुरुवात भएको छ।’

छलफलमा सबै सुरक्षा प्रमुखहरूले उच्च मनोबलका साथ सुरक्षा व्यवस्था मिलाउन तयार रहेको जानकारी दिएको समेत कार्कीले उल्लेख गरेकी छिन्।

‘सबै सुरक्षा प्रमुखहरूले उच्च मनोबलका साथ सुरक्षा व्यवस्था मिलाउन तयार रहेको जानकारी दिनुभएको छ,’ उनले भनेकी छिन्, ‘चुनावको वातावरण बनाउन भइरहेका प्रयासहरूको समीक्षा पनि गरिएको छ।’