कास्की प्रहरीले जेनजी आन्दोलनको क्रममा कास्की कारागार तोडेर भागेकामध्ये ८१ जना कैदी–बन्दीहरुलाई पक्राउ गरेको जनाएको छ।
कास्की कारागारमा ७ सय ७३ जना कैदीबन्दी रहेकोमा आन्दोलनको दोस्रो दिन असोज २४ गते एकजनाबाहेक सबै भागेका थिए।
त्यसरी भागेकालाई कारागार विगागले असोज २० गतेसम्म कारागार फर्कन आग्रह गरेको थियो। तर, तीमध्ये १३ विदेशीसहित २३६ जना फरार रहेका छन्।
कास्की प्रहरी प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतका अनुसार फरार विदेशी कैदीहरु मध्ये अधिकांश बलात्कार मुद्दाका दोषी छन् । एकजना शरीर बन्धक र दुईजना चिनियाँमध्ये एकजना मानव बेचबिखनको मुद्दाका अपराधी भएको उनले बताए ।
पछिल्लो समय पक्राउ परेका ८१ मध्ये जवरजस्ती करणी मुद्दाका– १६ जना, लागुऔषध मुद्दाका १६ जना, चोरीका २५ जना, ज्यान मार्ने उद्योगका ९ जना, अभद्र व्यवहारका ४ जना, सवारी अंगभंग मुद्धाका एक जना, कुटपीटबाट अंगभंग गर्ने एकजना, मानव बेचबिखनका १ जना रहेको पनि उनको भनाइ छ।












