मधेश प्रदेश सांसद सरोजकुमार सिंहसहित १६ जना विरुद्ध भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर

 संवाददाता    २०८२, ३० आश्विन बिहीबार १२:४७     117 जनाले पढ़िसके



Spread the love

मधेश प्रदेश सरकार सांसद सरोजकुमार सिंहसहित १६ जना विरुद्ध भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।

महोत्तरी प्रतिनिधि सभा क्षेत्र नं ४ को प्रदेश सभा २ बाट निर्वाचित मधेश प्रदेश सभा सदस्य समेत रहेका सिंहले मधेश प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०७८ ७९ मा विनियोजन भएको बजेटबाट विभिन्न उपभोक्ता समिति गठन गरी ती समितिको खातामा जम्मा भएको रकम आफ्नो स्वकीय सचिव बिनोदकुमारलाल कायस्थमार्फत झिकी आफ्नो र श्रीमतीको संयुक्त खातामा जम्मा गराएका थिए ।

यसरी जम्मा १ करोड ३६ लाख २७ हजार ४ सय ८१ रुपैयाँमध्ये करिब २८.२५ प्रतिशत अर्थात् ३ करोड ८५ लाख ३ सय १९ रुपैयाँ घुस तथा कमिसनबापत लिएको अनुसन्धानबाट पुष्टि भएको आयोगले जनाएको छ ।

यस प्रकरणमा, सिंहले आफ्ना अनुकूलका पदाधिकारीलाई उपभोक्ता समितिमा चयन गराई बैठकका निर्णय स्वकीय सचिव कायस्थबाटै तयार गराएको, बैंक खाता खोल्दा न्यूनतम शुल्कसमेत आफैँले तिरेको र भुक्तानी लिने व्यक्ति तथा मिति उल्लेख नगरी खाली चेकमा अध्यक्ष र कोषाध्यक्षको दस्तखत गराई रकम नियन्त्रणमा लिएको पाइएको छ ।

साथै, सार्वजनिक खरिद नियमावली २०६४ को नियम ९७ विपरीत काम नगरी सिंहले खटाएका कामदारमार्फत योजनाका काम सम्पन्न गराएको र त्यस बापतको कमिसन संयुक्त खातामा जम्मा गरेको अख्तियारको आरोप छ ।

उक्त कार्यमा संलग्न सिंह, रमेश मडर, अमलेश कुमारी, दिपाराजदेवी राजपुत, भिखारी राउतकुर्मी, भुपेन्द्रकुमार झा, मन्जुदेवी पासमान, रामनाथ सहनी, स्वीकृती देवी, रामशरण खत्वे, बिभादेवी खत्वे, शम्भुकुमार मंडल, योगिन्द्रर महतो, सुनयना कुमारी, यमुनाप्रसाद महतो र कौशिल्या देवीसमेत १६ जना प्रतिवादीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ बमोजिमको कसुरमा कैद, बिगो बराबर जरिवाना र बिगो जफतको मागदाबीसहित विशेष अदालतमा मुद्दा दायर भएको हो ।