नेकपा एमालेका नेता महेश बर्तौलाले देश अहिले संवैधानिक मार्गभन्दा बाहिर रहेको टिप्पणी गरेका छन्।
अन्तरिम सरकार गठन नै असंवैधानिक रुपमा भएको र संसद् विघटन पनि असंवैधानिक रहेको ठहर नेकपा एमालेको रहेको बताए।
बुधबार सिंहदरबारमा सभामुखसँगको छलफपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले संसद् विघटन असंवैधानिक, अराजनीतिक, अलोकतान्त्रिक भएको बताए। जेनजीका राम्रा विषयहरू समेटेर जाने माध्यम भनेकै संसद रहेकाले संसद पुनःस्थापना जरुरी रहेको बताए।
सरकार र सरकारका गृहमन्त्री निर्वाचन गराउनेभन्दा निर्वाचन हुनै नदिने काममा लागेको आरोप लगाए।
यस्तो छ उनको भनाइ
आजको बैठकमा सबै दलहरुले संसद विघटन असंवैधानिक, अलोकतान्त्रिक भएको भन्नुभएको छ। संसदलाई कायम राखेरै सबै प्रकारका समस्याको समाधान गर्न सकिने अवस्था हुँदाहुँदै त्यो अवस्था ठूला षड्यन्त्रको कारणले गर्दा असफल भयो भन्नेकुरा हामी सबै दलहरुको साझा मत भयो। संसद विघटन असंवैधानिक, अराजनीतिक, अलोकतान्त्रिक हो। यसको संवैधानिक परीक्षण सम्बन्धित सर्वोच्च अदालतले गर्नेछ। जेन जीका राम्रा विषयहरु पनि छन्।
त्यो पुस्ताले उठाएका विषयलाई संसदमार्फत संविधान संशोधन गरेर भोलिका दिनमा निर्वाचनमार्फत ताजा जनादेश ल्याएर अघि बढ्ने कुरा सहज हुन्छ भन्नेकुरा आयो। संसद् पुनःस्थापना गरिनु आवश्यक छ। देश अहिले संवैधानिक मार्ग भन्दा बाहिर छ। संवैधानिक लिकमा ल्याउन निर्वाचन र संस्द पुनःस्थापना नै हो। निर्वाचनको तर्फबाट हेर्दा कुनैपनि कार्य छैन। गृहमन्त्री आज आफैँ दलका नेताहरूलाई धम्क्याउँदै हिँड्नुभएको छ। गृह प्रशासन त्यही ढंगबाट चलाउँदै हुनुहुन्छ। राजनीतिक दलहरुले आफ्ना एजेण्डा लिएर जनताका बीचमा जान पाउँछन् भन्ने सुनिश्चितता सरकारले दिन सकेको छैन।