जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिलेको अवस्थामै फागुन २१ गते निर्वाचन हुने वा नहुनेमा शंका व्यक्त गरेका छन्।
जसपा नेपालको मधेस प्रदेश अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्नुहुँदै उनले अहिलेको अन्तरिम सरकारले निर्वाचन गराउन सक्ने विश्वास दिलाउन नसकेको बताए।
निर्वाचन गराउनका लागि ६ महिनाको समयावधि दिएर बनाइएको सरकारको एक महिना बिना कुनै काम बितिसकेको उनको जिकिर छ। ‘चुनाव गर्ने दायित्व यो सरकारको छ, एक महिनासम्म कुनै काम गरेको छैन,’ यादवले भने, ‘अन्तरिम सरकारले अहिलेसम्म हामीसँग निर्वाचन केन्द्रित छलफल गरेको छैन, के बिना राजनीतिक दलको निर्वाचन सम्भव छ? राजनीतिक दलले भाग लिएनन् भने चुनाव सम्भव छैन। यदी चुनाव भएपछि राजा ज्ञानेन्द्रले गर्नुभएको भन्दा ठूलो चुनाव हुँदैन। अहिलेसम्म चुनावको वातावरण छैन।’
अध्यक्ष यादवले आफ्नो सम्बोधनको क्रममा संघीयता खारेजीका लागि पनि षड्यन्त्र भइरहेकोप्रति सचेत गराए। उनले संघीय गणतन्त्रात्मक व्यवस्थालाई समाप्त पार्ने खेल भए त्यसविरुद्ध लड्न जसपा, नेपाल सदैव खडा हुने बताए।
संघीयता खारेजीको माग उठाए आफूहरु मौन नबस्ने चेतावनी दिँदै उनले संघीय गणतन्त्रात्मक व्यवस्था कसरी मजबुत बनाउन सकिन्छ त्यसतर्फ सोच्नुपर्ने बताए।
अध्यक्ष यादवले जेनजी आन्दोलन बहुदलीय व्यवस्था स्थापनापछि ३५-३६ वर्षमा कांग्रेस र कम्युनिष्टहरुको शासनबाट केही उपलब्धी हुन नसक्दाको परिणाम रहेको बताए।