विद्यालय भवन निर्माणमा अनियमितता गरेको आरोपमा प्रमुख प्रशासकीय अधिकृतसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

 संवाददाता    २०८२, २६ आश्विन आईतवार १५:२४     218 जनाले पढ़िसके



Spread the love

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले रौतहटको माधवनारायण नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रलब कायस्थसहित तीनजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले निमित्त प्रमुख प्रशासकीय अधिकृत कायस्थसहित लेखापाल रामबलम प्रसाद यादव र रौटहट एडभरटाइजिङ एजेन्सीका अध्यक्ष अजित कुमार कर्णविरुद्ध आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो। उनीहरूविरुद्ध २ लाख ५७ हजार ९७० रुपैयाँको बिगो माग गरिएको छ।

माधव नारायण नगरपालिका वडा नम्बर ३ मा स्थित देवी माध्यमिक विद्यालय सखुअर्वामा भवन निर्माणमा अनियमितता गरेको आरोपमा नित्तिम प्रमुख प्रशासकीय अधिकृत कायस्थसहित तीनजनाविरुद्ध आरोप पत्र दायर गरेको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए।

भवन निर्माण कार्यका लागि बोलपत्र आह्वानको सूचना र बोलपत्र स्वीकृत गर्ने आशयको सूचना सार्वजनिक खरिद ऐन बमोजिम राष्ट्रियस्तरको दैनिक पत्रिकामा प्रकाशन गर्नुपर्नेमा सो नगरी आपसी मिलोमतोमा निमित्त प्रमुखसहित तीनैजनाले गैरकानुनी लाभ लिएको पुष्टि भएको अख्तियारको ठहर छ।

उनीहरूलाई भ्रष्टाचार निवारण ऐन , २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ङ) बमोजिम कसुरमा कैद र सजायको माग दावी गरिएको आरोप पत्रमा उल्लेख छ।