जडीबुटी बसपार्कमा शुल्क विवाद चर्किएपछि पूर्व अरनिको यातायातका अध्यक्ष केदार क्षेत्री र बसपार्क सञ्चालक समितिका संयोजक रवि सिवाकोटीमाथि मजदुर र व्यवसायीहरुले कुटपिट गरेका छन् । बसपार्कको शुल्क सम्बन्धी छलफलकै क्रममा दुवै तर्फबाट हातपात भएको दुवै पक्षको आरोप छ ।
पूर्व अरनिको यातायात प्रालिले आफ्नै लगानीमा काठमाडौं महानगरपालिका-३२ जडीबुटीमा निर्माण गरेर सञ्चालनमा ल्याएको बसपार्कमा अत्यधिक शुल्क लिएको भन्दै यातायात व्यवसायीहरुले विरोधमा उत्रिएका थिए ।
शुल्क लगायत अन्य विषयमा छलफलको क्रममा पूर्व अरनिको यातायात प्रालिका अध्यक्ष केदार क्षेत्री मजदुर र यातायात व्यवसायीहरु बाट कुटिएका थिए ।
जडीबुटी बसपार्कमा छलफल भैरहवा मजदुर र व्यवसायीहरुले क्षेत्री र बसपार्क सञ्चालक समितिका संयोजक रवि सिवाकोटीलाई कुटेका हुन् । अध्यक्ष क्षत्रीको समूहले व्यवसायी र मजदुरहरूमाथि पनि कुटपिट गरेका र व्यवसायीहरु समेत घाइते भएका छन् ।
‘बसपार्कको शुल्कको विषयमा छलफल गर्नुछ बसपार्कमा आउनुहोस् भनेर बोलाएपछि हतारहतारमा आएको थिए, एक्कासि हातपात भइहाल्यो’, अध्यक्ष क्षेत्रीले भने, ‘एमाले र माओवादीका मजदुरहरूले योजनाबद्ध रूपमा ममाथि आक्रमण भयो ।’
१४ रोपनी व्यक्तिगत जग्गा भाडामा लिएर अरनिको बसपार्क प्रालि दर्ता गरेर पूर्व अरनिको यातायात प्रालिले झन्डै १० करोड रुपैयाँको लगानीमा दुई वर्ष अगाडि बसपार्क निर्माण सम्पन्न गरेर सञ्चालनमा ल्याएको थियो । बसपार्क सञ्चालनमा आए पनि बसपार्क सञ्चालनको इजाजत भने कतैबाट पनि प्राप्त भएको छैन ।
प्रदेश सरकारसँग बसपार्क सञ्चालनका लागि स्थायी अनुमतिका लागि आफूहरू अघिल्लो दिन मात्रै बागमती प्रदेश सरकारमा गएर अनुरोध गरेको र त्यसैको भोलिपल्ट आफूहरूमाथि आक्रमण भएको क्षत्रीले बताए ।
बसपार्कमा ब्रम्हलुट भयो : मजदुर व्यवसायी
अरनिको सम्बद्ध यातायात व्यवसायी र मजदुरहरूले भने बसपार्क शुल्कको नाममा आफूहरूमाथि समितिले अत्याचार गरेको आरोप लगाएका छन् ।
बसपार्कमा गाडी प्रदेश गर्न साथ प्रति गाडी ३ सय ५० रुपियाँ शुल्क लिने गरेको र बसपार्कमा गाडी नजाँदा पनि उक्त गाडीले अनिवार्य रूपमा बसपार्कको शुल्क बुझाउनु पर्ने बाध्यकारी नियम राखेको व्यवसायी र मजदुरहरूको भनाई छ ।
शनिवार बसपार्कको शुल्कको विषयमा छलफल गर्न अध्यक्षलाई बोलाएको र अध्यक्ष आएर एक्कासि तेरो गाडी हटाउँछु, तँलाई समितिबाट कारबाही गर्छु भनेर धम्की दिएर अध्यक्षसँग भएका युवाहरूले हातपात गर्न सुरु गरेपछि आफूहरूले त्यसको प्रतिकार मात्रै गरेको मजदुरहरूको भनाई छ ।
बसपार्क भित्र रहेका सटर र कवलहरूबाट मात्रै मासिक रूपमा २१ लाख आम्दानी हुने गरे पनि व्यवसायीहरुलाई बसपार्क शुल्कको नाममा शोषण गरिएको व्यवसायीहरुको भनाई छ । मजदुर र व्यवसायीहरुले बसपार्कको मा निःशुल्क रूपमा आफ्ना सवारी साधनहरु राख्न पाउनु पर्ने माग गरेका छन् ।
चर्को क्यु शुल्क, श्रीमती कार्यरत बिमा संस्थामा जबर्जस्ती बिमा गराएर लाखौँ कमिसन
पूर्व अरनिको यातायातमा समितिले चर्को क्यु शुल्क लिएर व्यवसायीहरुलाई हैरानी बनाएको गुनासो बढेको छ । प्रत्येक ट्रिप शुल्क बापत १५ सय देखि ४५ सय सम्म असुलेको व्यवसायीहरुको भनाई छ । तर अध्यक्ष क्षेत्रीले भने अन्य यातायात संस्थामा भन्दा आफूहरुकोमा क्यु शुल्क न्यून रहेको दाबी गरे ।
अरनिकोमा एउटा गाडी दर्ता गर्दा ५ लाख रुपियाँ अतिरिक्त शुल्क लिने गरेको र ६ सय गाडी दर्ता गर्दा त्यो बापतको लाखौँ रुपियाँ अध्यक्षले लिने गरेको व्यवसायीहरुको आरोप छ ।
कम्पनी अन्तर्गतका गाडीको बिमा यस अघि प्रभु बिमा कम्पनीमा गर्ने गरेको भए पनि ३ वर्ष देखि कम्पनीका अध्यक्ष केदार क्षेत्रीको श्रीमती कार्यरत आइएमइ बिमा कम्पनीमा गर्दा त्यसबापत प्राप्त हुने २० प्रतिशत कमिसन समेत अध्यक्ष क्षत्रीले नै लिने गरेका छन् । तर क्षेत्री भने त्यसबापत प्राप्त हुने कमिसन आफूले समितिमा नै बुझाएको दाबी गरेका छन् ।
मजदुर र व्यवसायीहरुले अरनिकोमा बुझाएको ज्ञापन पत्र
-तत्काल वैधानिक अधिवेशन घोषणा गरी नयाँ कार्यसमिति गठनको प्रक्रिया सुरु गरियोस्।
-बसपार्क तथा व्यावसायिक कम्पनीहरूको चल–अचल सम्पत्ति र आय–व्ययको पूर्ण विवरण सार्वजनिक गरियोस्।
-व्यवसायीमाथि लगाइएको अत्यधिक क्यु महसुल खारेज गरी बसपार्क शुल्क निःशुल्क घोषणा गरियोस्।
-संस्थाको सम्पत्तिमा सवारी धनीहरूलाई मात्र न्यायसङ्गत दरमा शेयर वितरण गरियोस्।
-निश्चित कम्पनीका मात्र सवारी दर्ता गर्ने निर्णय खारेज गरी सबै कम्पनीका गाडीहरूको दर्ता खुला गरियोस्।
-२००९ मोडलका सवारी हटाउँदा प्रभावित व्यवसायीहरूलाई उचित क्षतिपूर्ति प्रदान गरियोस्।
-व्यवसायी र मजदुरमाथि भइरहेका धम्की, कुटपिट र गुण्डागर्दी तत्काल बन्द गरियोस्।
-संस्थामा भइरहेको भ्रष्टाचार, मनपरी निर्णय र आर्थिक अनियमितता तत्काल अन्त्य गरियोस्।
-व्यवसायी विरोधी र गैर जिम्मेवार अध्यक्ष केदार क्षेत्रीले तत्काल राजीनामा दिइयोस्।
-संस्थाको गौरवशाली परिचय जोगाउन “पूर्व अरनिको यातायात प्रालि” नाम यथावत् राखियोस्।
-संस्थालाई नातागोता तथा आफन्त भर्ती केन्द्र बनाउने प्रवृत्ति पूर्ण रूपमा बन्द गरियोस्।
-अध्यक्षको श्रीमती रहेको बिमा कम्पनीमार्फत गरिएका बिमाबाट प्राप्त कमिसन रकम सार्वजनिक गरी संस्थामा जम्मा गरियोस्।
– सुपर एक्सप्रेस सञ्चालनमा रहेका च्यास्कु, बसेरी, गेलु, कुभुकासस्थली क्यु पुनः सञ्चालन गरी पलपु क्यु खारेज गरी हरेक निर्णयमा क्षेत्रगतरुपमा व्यवसायीको सहमति लिने निर्णय गरियोस्।
-व्यवसायी कम्पनीको चल अचल सम्पत्ति वितरण गर्दा व्यवसायी भेला गरेर मात्र निर्णय गरियोस्।
-व्यवसायीहरूले ल्याएका सबै प्रकारका सवारी साधनहरूको सहज दर्ता तुरुन्त गरियोस्।