प्रचण्डको सचिवालयले भन्यो- हाम्रो नेतृत्वविरुद्ध तथ्यहीन प्रचार गरियो

 संवाददाता    २०८२, २६ आश्विन आईतवार १२:२८     90 जनाले पढ़िसके



Spread the love

माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डविरुद्ध प्रायोजित र भ्रामक प्रचार गरिएको भन्दै उनको सचिवालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

प्रचण्डका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले आइतबार सामाजिक सञ्जालमार्फत
केही सञ्चारमाध्यम र सामाजिक सञ्जालहरूमा प्रचण्ड र उनका परिवारका सदस्यहरूलाई लक्षित गरी प्रकाशित÷प्रसारित समाचार तथा सामग्रीहरूप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन्।

‘संकटको आजको संवेदनशील घडीमा पार्टी नेतृत्वविरुद्ध नियोजित ढङ्गले गरिएका यस्ता तथ्यहीन र चरित्रहत्या गर्ने सामग्रीको प्रवाहप्रति हामी खेद प्रकट गर्दै कडा शब्दमा भत्र्सना गर्दछौँ,’ आचार्यले भनेका छन्, ‘हाम्रो संविधानको विचार तथा अभिव्यक्ति स्वतन्त्रता सम्वन्धी प्रावधान, यससँग सम्वन्धित कानून र पत्रकार आचारसंहिता अनुसार कुनै पनि सामग्री प्रवाह गर्दा अरुमाथि गालीगलौज, चरित्रहत्या र मानहानी गर्न बन्देज गरिएको छ। हाम्रो पार्टी र नेतृत्वविरुद्ध प्रवाह भएका पछिल्ला केही सामग्रीहरूमा ती सबै कानूनी र नैतिक मापदण्डहरुको अवमूल्यन गरी एकतर्फी ढंगले पूर्वाग्रही, उत्तेजनापूर्ण, प्रायोजित र असत्य विवरणहरू प्रस्तुत गरिएको स्पष्ट देखिन्छ। जुन गम्भीर तथा आपत्तिजनक छ।’

प्रचण्डको सचिवालयले सम्बन्धित सञ्चार माध्यमलाई प्रचण्डको निवासबाट जेन जी आन्दोलनपूर्व दुई ट्रकमा दुई करोड रुपैयाँ लगिएको, सुरक्षाकर्मीलाई घरेलु कामदार बनाइएको भन्ने जस्ता निराधार आरोप तथा गंगा दाहालको घरमा आठ जना सुरक्षाकर्मी खटाइएको दाबीको सत्यता प्रमाणित गर्न चुनौती पनि दिएको छ।

‘डिजिटल माध्यममार्फत् गरिएका यस्ता गलत प्रचारप्रसार साइबर कानुनविपरीत भएकाले त्यसबारे आवश्यक अनुसन्धान र कानुनी कारबाहीका लागि सम्बन्धित निकायहरूमा अनुरोध गर्दछौँ,’ प्रचण्डको सचिवालयले भनेको छ, ‘भविष्यमा यस्ता तथ्यहीन र दुरासयपूर्ण सामग्रीहरू प्रकाशित वा प्रसारित भएमा त्यसको सम्पूर्ण जिम्मेवारी प्रकाशक तथा प्रसारक पक्ष स्वयंमाथि नै रहने स्पष्ट गर्दै यसखालका भ्रामक कुप्रचारको भ्रममा नपर्न आम जनसमुदायसँग हार्दिक अपिल गर्दर्छौँ।’