हमासले माग्यो बन्धकहरू रिहाइका लागि थप समय

 संवाददाता    २०८२, २६ आश्विन आईतवार ११:१३     170 जनाले पढ़िसके



Spread the love

हमासले बन्धकहरू रिहाइका लागि थप समय मागेको छ।

इजरायल र हमासबीच भएको सम्झौताअनुसार स्थानीय समय शुक्रबार दिउँसोदेखि गाजामा युद्धविराम लागु भएको छ भने त्यसको ७२ घण्टाभित्र हमासले सबै ४८ बन्धक रिहा गर्नुपर्नेछ।

स्थानीय समयअनुसार युद्धविराम लागु भएको ७२ घण्टा भनेको सोमबार स्थानीय समय दिउँसो १२ बजे (नेपाली समय दिउँसो २:४५ ) सम्म जीवित र मृत सबै ४८ बन्धक रिहा गरिसक्नुपर्ने हुन्छ।

तर यस अवधिमा सबै बन्धक हस्तान्तरण गर्न नसकिने भन्दै हमासले थप समय मागेको हो। योसँगै बन्धक रिहा गर्ने समय अनिश्चित बनेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ।

यसैबीच वासिङ्टन पोस्टको पछिल्लो रिपोर्टमा नेपालका विपिन जोशी पनि जीवित बन्धकको सूचीमा राखिएको छ।

गाजामा युद्धविराम र बन्धक रिहा हुने खबरले नेपाल पनि उत्साहित छ।

कञ्चनपुरको भीमदत्त नगरपालिका-३ भाँसी निवासी महानन्द जोशीको परिवारमा विपिन फर्किने आशा जागेको छ।