बीपी प्रतिष्ठानकी विभागीय प्रमुख संगीता भण्डारी निलम्बित

 संवाददाता    २०८२, २४ आश्विन शुक्रबार १६:२१     127 जनाले पढ़िसके



Spread the love

सुनसरीको धरानस्थिति बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनअनुसार प्रतिष्ठानका नाक, कान र घाँटी विभाग प्रमुख डा. संगीता सिंह भण्डारीलाई निलम्बन गरेको छ।

आयोगले डा. भण्डारीमाथि एमआरआई मेसिन खरिदमा अनियमितता गरी घुस रकम बापत आर्थिक लाभ लिएको आरोपमा मुद्दा दायर गरेको थियो।

अख्तियारले दाङको घोराही उपमहानगरपालिकास्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति पदमा कार्यरत रहँदा डा. भण्डारीले एमआरआई मेसिन कम गुणस्तरको खरिद गरी आर्थिक अनियमितता गरेको निष्कर्ष निकाल्दै विगतको पदका आधारमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

अख्तियारले बिहीबार प्रतिष्ठानलाई पठाएको पत्र अनुसार बीपी प्रतिष्ठानको कार्यकारिणी समितिका सदस्य समेत रहेकी भण्डारीमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कानुनी प्रक्रिया अघि बढाइएको छ।

बीपी प्रतिष्ठानका रजिस्ट्रार सूर्यप्रसाद सग्रौलाका अनुसार आयोगको पत्र प्राप्त भएसँगै शुक्रबार नै डा. भण्डारीलाई निलम्बन गरिएको हो।

‘अख्तियारको निर्देशनअनुसार शुक्रबार नै उहाँमाथि निलम्बनको निर्णय गरिएको छ,’ सग्रौलाले बताए।