मकवानपुर प्रहरीले ३४ लाख रुपैयाँ बराबरको भन्सार छली गरी ल्याइएका कपडा र प्रतिबन्धित पटकाजन्य पदार्थ बरामद गरेको छ।
मकवानपुर जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले शुक्रबार (आज) बिहान ४ बजेतिर हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटेनजिक पूर्वपश्चिम राजमार्गमा चेकजाँचका क्रममा उक्त परिमाणमा कपडा र पटका फेला पारेको हो।
वीरगन्जबाट हेटौँडातर्फ आउँदै गरेको मधेस प्रदेश ०३–००१ च ९०२३ नम्बरको गाडीबाट ती सामान बरामद भएका हुन्।
अवैध कपडा र पटकासहित गाडीका चालक रौतहट, वृन्दानन नगरपालिका–९ का २० वर्षीय प्रदीपकुमार चौधरी र यात्रु गरुडा नगरपालिका-४ का ३१ वर्षीय विजय साहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
गाडीको पछाडि लुकाईछिपाई ल्याइएका १३० थान सारी, ६९६ थान कुर्ता र १७५ थान टप्स गरी १ हजार १ थान कपडाको मूल्य करिब १४ लाख रुपैयाँ रहेको प्रहरीले जनाएको छ।
यसैगरी गाडीबाट पटकाजन्य झिरझिरेलगायत करिब २० लाख रुपैयाँ बराबरका पदार्थ बरामद गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।