चीनले सामाजिक सञ्जालमा ‘नकारात्मक भावना’ फैलाउने प्रयोगकर्तामाथि थाल्यो अनलाइन सफाइ अभियान

 संवाददाता    २०८२, २४ आश्विन शुक्रबार १२:२४     87 जनाले पढ़िसके



Spread the love

काठमाडौं । चीनले सामाजिक सञ्जालमा ‘अत्यधिक निराशावादी’ वा ‘नकारात्मक भावना’ फैलाउने प्रयोगकर्तामाथि निगरानी र कारबाहीलाई अभियानकै रूपमा अघि बढाएको छ । यसलाई चीन सरकारले अनलाइन सफाइ अभियान भनेको छ ।

सरकारले यस अभियानलाई ‘साइबर स्वास्थ्य सुरक्षाको प्रयास’ भनेको छ, तर पश्चिमाहरूले भने यसलाई राजनीतिक नियन्त्रण कडा पार्ने रणनीति भनेर व्याख्या गरेका छन् ।

‘अत्यधिक नकारात्मकता’ अपराधजस्तै

चीनको साइबरस्पेस प्रशासनले गत हप्ता घोषणा गरेको नयाँ निर्देशनमा भनिएको छ – ‘सामाजिक स्थिरता र सामूहिक आत्मविश्वासमा हानी पुग्ने खालका निराशावादी टिप्पणीहरू, असन्तुष्टि, व्यङ्ग्यात्मक पोस्ट र देशको छवि बिगार्ने सामग्रीहरू हटाइनेछन् र यस्ता प्रयोगकर्तामाथि कारबाही हुन्छ ।’

यस अन्तर्गत, ‘आर्थिक कठिनाइ’, ‘बेरोजगारी’, ‘भ्रष्टाचार’ र ‘सामाजिक असमानता’ जस्ता विषयमा आलोचनात्मक वा व्यङ्ग्यात्मक सामग्री राख्ने प्रयोगकर्ताहरूलाई चेतावनी, खाता निलम्बन वा पक्राउसमेत गरिने बताइएको छ ।

साउथ चाइना मर्निङ पोस्टका अनुसार, चीनले ‘क्लिन अप २०२५’ नामक राष्ट्रिय अनलाइन अभियान अन्तर्गत नागरिकको ‘मनोवैज्ञानिक स्थिरता र सामाजिक आत्मविश्वास’ जोगाउने लक्ष्य राखेको छ ।

यस अन्तर्गत Weibo, WeChat, Douyin, TikTok लगायतका प्लेटफर्ममा ‘अत्यधिक निराशावादी’, ‘सामाजिक असन्तुष्टि उत्पन्न गर्ने’, वा ‘राष्ट्रिय छविमा असर पार्ने’ पोस्ट, भिडिओ र टिप्पणीहरू हटाइनेछ ।

आर्थिक मन्दी र असन्तुष्टि पछाडिको कारण

चीनको अर्थतन्त्र हाल कमजोर अवस्थामा छ – युवा बेरोजगारी बढ्दो क्रममा छ, र आवास बजार संकट गहिरिँदै गएको छ । यी कारणले सामाजिक सञ्जालमा असन्तुष्टि र व्यङ्ग्यात्मक टिप्पणीहरू बढिरहेका छन् ।

साउथ चाइना मर्निङ पोष्टले लेखेको छ– ‘सरकारले नकारात्मक भावना नियन्त्रणलाई सामाजिक असन्तुष्टि रोक्ने मनोवैज्ञानिक उपकरणका रूपमा प्रयोग गर्न थालेको छ ।’

बेइजिङस्थित एक डिजिटल विश्लेषकले भनेका छन्- सत्ताविरोधी अभिव्यक्ति नियन्त्रण अब केबल शब्दमा सीमित छैन, चीनले अब भावना नै नियन्त्रण गर्न खोज्दैछ ।

चीनले पछिल्ला वर्षहरूमा ‘सकारात्मक ऊर्जा’ भन्ने नारालाई सबै सरकारी अभियानको केन्द्रीय सिद्धान्त बनाएको छ ।

राज्य नियन्त्रित मिडिया पीपल्स डेली र ग्लोबल टाइम्सले लेखेका छन्- सकारात्मक सोच, आत्मविश्वास र एकताको सन्देशले मात्र समाजलाई स्थिर राख्न सकिन्छ ।

नयाँ सफाइ अभियानमा एआई आधारित प्रणाली प्रयोग भइरहेको छ, जसले प्रयोगकर्ताको पोस्ट, इमोजी, क्याप्सन वा भिडिओमा रहेको भावनात्मक टोन (tone) पहिचान गर्नेछ।

‘यदि कुनै सामग्रीले डर, क्रोध, निराशा वा असन्तुष्टि व्यक्त गर्छ भने, त्यसलाई ‘नकारात्मक भावना’ को रूपमा वर्गीकृत गरेर हटाइन्छ,’ रिपोर्टमा भनिएको छ।