बालिकाले लगाएको गहनाले लियो ज्यान

 संवाददाता    २०८२, २३ आश्विन बिहीबार १३:३३     233 जनाले पढ़िसके



Spread the love

विजया दशमीको भोलिपल्ट असोज १७ गते शुक्रबार दिउँसो ३ बजे आफन्तको बिहेभोजमा गएकी भारती (एन्जल) देउवा कहिल्यै नफर्किने गरी सदाका लागि अस्ताइन्। १० वर्षीया बालिका देउवा बर्दिया गेरुवा गाउँपालिका–५ झबहीकी बासिन्दा हुन्।

नीलो जिन्स पाइन्ट, सेतो–कालो रङको टिसर्ट, गुलाफी रङको चप्पल लगाएर पहेंलो रङको सानो साइकल चढेर गणेशपुरस्थित आफन्तकहाँ गएकी उनी बेलुकीसम्म घर नफर्किएपछि यत्रतत्र खोजी भयो। कतै पत्ता नलागेपछि बेलुकी सवा ६ बजे परिवारले खोज तलासका लागि प्रहरीमा मौखिक जानकारी गराए।

यसको लगत्तै इलाका प्रहरी कार्यालय राजापुरका प्रमुखको कमाण्डमा खोजी कार्य शुरु गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक देवेन्दकुमार मल्लले बताए। अर्को दिन शनिबार दिउँसो २ बजे मूलपानीस्थित बूढी खोला आसपासमा उनको साइकल फेला पर्‍यो।

उनले भने, ‘खोजी गर्दै जाँदा आइतबार दिउँसो पौने ३ बजे घरदेखि २ किलोमिटर उत्तरतर्फ वडा नम्बर ३ गणेशपुर स्थित बूढीखोला किनारमा

बालिकाको शव फेला पर्‍यो।’ घटनास्थल इलाका प्रहरी कार्यालय पाताभार बर्दियादेखि २ किलोमिटर दक्षिण पूर्वमा पर्छ। उनले थपे, ‘घटनाको सूक्ष्म अध्ययन हुँदैछ।’ बालिकाको सबै कपडा फुकालिएको, घोप्टो शरीरमाथि बालुवा खोस्रेर माथिबाट पुरिएको पूर्ण नग्न अवस्थामा शव फेला परेको खोजतलास कार्य एवं घटना अनुसन्धानमा कमाण्ड गरिरहेका इलाका प्रहरी कार्यालय राजापुरका प्रहरी नायव उपरीक्षक कबिन्द्र सिंह बोहोराले जानकारी दिए।

घटनाउपर गहिरो अनुसन्धान भइरहेको उनले जनाए। इलाका प्रहरी कार्यालय पाताभारले मंगलबार सोधपुछका लागि केही व्यक्तिहरूलाई नियन्त्रणमा लिएको थियो। जिल्ला प्रहरी कार्यालय बर्दियामा ल्याई सोधपुछ गर्दा बुधबार सोही ठाउँ निवासी २२ वर्षीय समिर तिरुवा सुनारले घटनाबारे स्विकार गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक सरोज पौडेलले बताए। ‘घटना अन्य प्राविधिक पाटोबाटसमेत मिल्न गएको छ। बर्दिया जिल्ला अदालतबाट म्याद थपी अनुसन्धान गर्दैछौं’, उनले भने, ‘बालिकाको भेरी अस्पताल नेपालगञ्जबाट पोस्ट मार्टम भइसकेको छ। रिपोर्टबाट थप अनुसन्धान हुन्छ।’

बालिकाको हातमा लगाएको चाँदीका बाला, घाँटीको सिक्री र कानमा लगाएको मुन्द्रा निकाल्ने क्रममा बालिका चिच्चाएर प्रहरीलाई भन्दिन्छु भनेपछि घाँटी थिचेको र बालिकाको मृत्यु भएको आरोपितले प्रहरी समक्ष बयान दिएको प्रहरी उपरीक्षक पौडेलले बताए। उनी भारतमा स्काइभेटरमा काम गर्दै आएको पाइएको छ। सुनका लागि घटना घटाएको आरोपित तिरुवाले स्विकारेको उनले प्रष्ट्याए।

बालिका माथि घटेको रहस्यमय घटनाले सम्पूर्ण पालिका स्तब्ध र मर्माहत भएको गेरुवा गाउँपालिकाका अध्यक्ष जमान सिंह केसी बताउँछन्।
‘रहस्यमय घटना भएको छ। सत्यतथ्य छानबिन हुनुपर्छ’, उनले भने, ‘पीडित परिवारलाई न्यायका लागि हामी जोडदार माग गर्छौं। स्थानीय प्रहरी प्रशासनले गम्भीर रूपमा अनुसन्धान गरिरहेकाले न्याय नमर्नेमा आशावादी छौं।’ पीडितले पाउने सम्पूर्ण कानुनी अधिकारका लागि अन्तिमसम्म लडिरहने अध्यक्ष केसीको भनाइ छ।