एकै दिन ८ जनाको शव फेला

 संवाददाता    २०८२, २२ आश्विन बुधबार २०:३०     124 जनाले पढ़िसके



Spread the love

देशका विभिन्न जिल्लामा बुधबार मात्रै ८ जनाको शव छुट्टाछुट्टै स्थानमा फेला परेको छ।

काभ्रेको तेमाल गाउँपालिका-८ माम्तीस्थित रोशी खोलाको बगरमा अन्दाजी ३२ वर्षीया अज्ञात महिलाको शव फेला परेको प्रहरीले जनाएको छ।

त्यसैगरी, तनहुँको भानु नगरपालिका-८ माझीगाउँकी ४२ वर्षीया सीता माझी आफ्नै घरमा मृत अवस्थामा भेटिएकी छन्।

कपिलवस्तुको शुद्धोधन गाउँपालिका-३ लबनी निवासी उमा कलवारका ९ वर्षीय छोरा दुर्गेश कलवार सोही ठाउँस्थित माछा पोखरीमा मृत अवस्थामा फेला परेका छन्।

भक्तपुरको सूर्यविनायक नगरपालिका-५ कटुन्जे निवासी ४१ वर्षीय सुजन खड्का पनि आफ्नै घरमा मृत अवस्थामा भेटिएका छन्।

दार्चुलाको महाकाली नगरपालिका-७ धापस्थित महाकाली नदी किनारमा अन्दाजी ३६ वर्षीया अज्ञात महिलाको शव फेला परेको छ भने बाजुराको हिमाली गाउँपालिका-६ झुँगला नजिकै कर्णाली नदीमा अन्दाजी २३ वर्षीया अज्ञात महिलाको शव भेटिएको प्रहरीले जनाएको छ।

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-२ निबुगाउँका ७७ वर्षीय कमलबहादुर तामाङ सोही ठाउँस्थित काठे खोल्सामा मृत अवस्थामा फेला परेका छन्।

त्यस्तै, इलाम नगरपालिका-११ सोयाक लाप्सेटारस्थित माईखोलाको बगरमा अन्दाजी ५५ वर्षीया अज्ञात महिलाको शव फेला परेको छ।

प्रहरीका अनुसार सबै घटनाबारे आवश्यक अनुसन्धान भइरहेको छ।