प्रहरीलाई कुटपिट गरेको आरोपमा वडाध्यक्ष पक्राउ

 संवाददाता    २०८२, २२ आश्विन बुधबार १५:४७     159 जनाले पढ़िसके



Spread the love

प्रहरीलाई कुटपिट र प्रहरी चौकीमा आक्रमण गरेको आरोपमा सर्लाहीको गोडैता नगरपालिका–७ का वडाध्यक्ष छोटेलाल भन्ने विनेशकुमार दासलाई प्रहरीले पक्राउ गरेको छ । ४० वर्षीय वडाध्यक्ष दासलाई मंगलबार सर्लाहीको बागमती नगरपालिकास्थित इलाका प्रहरी कार्यालय कर्मैया अगाडिबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिएका छन् ।

वडाध्यक्ष दासको नेतृत्वमा असोज १७ गते साँझ प्रहरी चौकी गोडैतामा ढुंगामुढा गरेको र प्रहरी कर्मचारीलाई कुटपिट गरेको आरोप लागेको छ । आक्रमणबाट प्रहरी चौकी गोडैताका इन्चार्ज एवं प्रहरी नायब निरीक्षक अवधेशप्रसाद यादवको अगाडिको माथिल्लो दुईवटा दाँत भाँचिएको डीएसपी राईले बताए । आक्रमणबाट प्रहरी चौकीमा कार्यरत अन्य ५ जना सुरक्षाकर्मी समेत घाइते भएका छन्।

प्रहरी चौकीमा ढुंगामुढा र बाँसको भाँठा प्रहार हुँदा तीनवटा मोटरसाइकलमा क्षति पुगेको प्रहरीले दावी गरेको छ । दुर्गा पूजाका लागि चन्दा उठाउने विषयमा गोडैता नगरपालिका–७ मा स्थानीय कारिल यादवलाई सर्लाहीकै रामनगर गाउँपालिका–५ का अनिल राय यादव लगायतले कुटपिट गरेका थिए । कुटपिट गरेको आरोपमा पक्राउ परेका अनिललाई प्रहरी चौकीमा राखिएको अवस्थामा कारिलको पक्षबाट आएका वडाध्यक्ष दाससहितको टोलीले प्रहरी चौकीमा आक्रमण गरेका थिए ।

पक्राउ परेका वडाध्यक्ष दासलाई जिल्ला प्रहरी कार्यालय मलंगवाको हिरासतमा राखेको छ। उनलाई कुटपीट, अङ्गभङ्ग, ज्यान मार्ने उद्योग तथा आपराधिक उपद्रो कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

वडाध्यक्ष दासलाई प्रहरीले पक्राउ गरेको विरोधमा बुधबार बिहानैदेखि गोडैता बजार बन्द गराइएको छ ।