नेकपा (माले) का महासचिव सीपी मैनालीले राजसंस्था र प्रजातान्त्रिक शक्तिहरु मिलेर गएमात्रै देश बच्नसक्ने बताएका छन्।
बीपी कांग्रेसले काठमाडौँमा आयोजना गरेको चियापान तथा छलफल कार्यक्रममा बोल्दै उनले बंगलादेश र सिक्किमको घटनापछि राजसंस्था र जनसत्ता मिल्नुपर्छ भन्ने २०३३ सालको बीपीको बुझाइ अहिले पनि ज्वलन्त रहेको बताए।
२०६३ साल वैशाख १० गते उच्च डेमोक्रेसीसहित राजसंस्था रहने सहमति गरिए पनि विदेशीहरुको दबाबले गर्दा संविधान सभाद्वारा नै राजसंस्था हटाइएको बताए।
‘अहिले जुन उहाँले विचार राख्नुभयो, अब बंगलादेश र सिक्किमको घटनापछि राजसंस्था र जनसत्ता मिल्नुपर्छ, प्रजातान्त्रिक शक्तिहरु मिलेर गएमात्रै देश बच्नसक्छ नत्र बच्न सक्दैन भन्ने बीपीको सोचाई अहिले आएर ज्वलन्त बनेको छ,’ मैनालीले भने, ‘जाज्वल्यमान बनेको छ। बीपीको २०३३ सालका विचारहरु राम्रा छन्। ९० वर्षको राजनीतिक दलको अनुभवले साँचो कुरा के रहेछ भन्नेकुरा देखिएको छ। २०६३ साल वैशाख १० गते उच्च डेमोक्रेसीसहित राजसंस्था रहने सहमति गरियो। तर पछि विदेशीहरुको दबाबले गर्दा संविधान सभाद्वारा नै २०६५ सालको जेठ १५ गते राजसंस्था हटाइयो। देशलाई यो ठाउँमा ल्याउने हामी राजनीतिक दलहरू नै हौँ। शान्ति क्षेत्रको प्रश्तावलाई हामी दलहरुले नै हो खारेज गरेको। हामी राजनीतिक दलहरुले नै हो खुकुलो नागरिकताको नीति लिएको।’