डोटीमा दसैँ मनाउन बिदामा आएका प्रहरी जवान मृत फेला, टाउकोमा चोट

 संवाददाता    २०८२, १८ आश्विन शनिबार १२:३७     168 जनाले पढ़िसके



Spread the love

डोटीमा एक जना प्रहरी जवान मृत भेटिएका छन्।

शुक्रबार मध्यराति शिखर नगरपालिका–८ गोपघाटस्थित सडकमा प्रहरी जवान मृत भेटिएका हुन्।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार शिखर नगरपालिका–८ तिलतालीका २८ वर्षीय शंकर बलायर सडकमा घोप्टो परेको अवस्थामा मृत भेटिएका छन्।

डोटीका डीएसपी निशान्त श्रीवास्तवले गएराति सवा १२ बजे प्रहरी जवान बलायर मृत भेटिएको जानकारी दिए।

‘शिखर नगरपालिका ८ गोपघाटस्थित केआई सिंह राजमार्गको सडकखण्डमा उहाँ मृत भेटिनुभएको हो। हाल सडक दुर्घटनाकै रुपमा हेरिएको छ। उहाँको टाउकोमा चोट छ’, उनले भने।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया बारामा दरबन्दी रहेका उनी जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटमा प्रहरी जवानको रुपमा कार्यरत थिए।

दसैं मनाउन असोज ७ गते १८ दिनको बिदा लिएर बलायर घर आएका थिए।

शुक्रबार राति १२ः१५ मा प्रहरीलाई घटनाबारे जानकारी आएको थियो। अहिले घटनास्थलमा अनुसन्धानका लागि प्रहरी टोली छ। घटनास्थल सिल गरेर अनुसन्धान भइरहेको जनाएको छ।

प्रहरीका अनुसार मृत फेला परेका बलायरको टाउकोमा गम्भीर चोट लागेको देखिएको छ।