दशैँमा मानिसको यात्रा र जमघटका कारण डेंगीको संक्रमण फैलन सक्ने जोखिम बढेको छ । असोज लागेपछि लगातारजसो पानी परिरहेकोले लामखुट्टेको प्रजननका लागि अनुकुल वातावरण बनेको हुँदा पनि अबको केही हप्ता डेंगीको जोखिम बढ्न सक्ने डाक्टरहरुले बताएका छन् ।
गएको एक हप्तामा मात्र दुई सय ९४ नयाँ संक्रमित थपिएका छन् । सन् २०२५ को शुरु अर्थात गएको पुसको मध्यदेखि अहिलेसम्म पाँच हजार एक सय ९६ जनामा डेंगी संक्रमण पुष्टि भएको छ । यो संख्या अघिल्लो वर्षको भन्दा निकै कम भएपनि अबका केही हप्ता उच्च सतर्कता अपनाउनुपर्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा(ईडीसीडी)ले जनाएको छ । ईडीसीडीअन्तर्गत किटजन्य शाखाका प्रमुख डा.गोकर्ण दाहालका अनुसार यस वर्ष सङ्क्रमण ७५ जिल्लामा फैलिएको भए पनि कुनै पनि ठाउँमा ‘हटस्पट’को अवस्था देखिएको छैन ।
अहिले तराईदेखि पहाडी जिल्लासम्म डेंगी फैलन थालेको छ । दशैंका बेला धेरै मानिसहरु पहाडी क्षेत्रमा जाने भएकोले संक्रमण जोखिम त्यहाँ हुने भएकोले सावधानी अपनाउनुपर्ने डाक्टर दाहललले बताउनुभयो ।