मुग्लिनदेखि आबुखैरनीसम्म समानान्तर सडकको रेखाङ्कन स्वीकृत, यस्ता छन् मन्त्रिपरिषद्‍का निर्णयहरू

 संवाददाता    २०८२, १२ आश्विन आईतवार १९:४८     2296 जनाले पढ़िसके



Spread the love

सरकारले मुग्लिङनदेखि आँबुखैरेनीसम्म हालको राजमार्गको समानन्तरको सडकको रेखाङ्कन स्वीकृत गरेको छ।

असोज १२ गते बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए।

प्रवक्ता खरेलका अनुसार मुग्लिनदेखि आँबुखैरेनीसम्म हालको राजमार्गको समानन्तरको मुग्लिङ बजारको पारी पट्टी त्रिशूली किनार गोरखातर्फदेखि मर्स्याङ्दी नदीको बायाँ किनार हुँदै मर्स्याङ्दी विद्युत गृहको पारीपट्टी गोरखातर्फसम्म थप सडकको रेखाङ्कन स्वीकृत गरेको हो।

सडकको केन्द्र रेखाबाट दायाँ बायाँ १५—१५ मिटर गरी ३० मिटरको सडकको मापदण्ड स्वीकृत गर्ने निर्णय भएको छ।

यस्तै, अन्तरिम सरकारले २०८२ कार्तिक १० देखि १३ गतेसम्म भारतको नयाँ दिल्लीमा आयोजना हुने अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए) को आठौँ बैठकमा भाग लिन उर्जा जलश्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङलाई सहभागी हुन स्वीकृति दिएको छ।

भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा घाइते भएका व्यक्तिहरुको पहिचान एवं सहज र प्रभावकारी उपचारको व्यवस्थाका लागि गृह मन्त्रालयले परिचय पत्र वितरणको व्यवस्था मिलाउने निर्णय भएको सञ्चारमन्त्री खरेलले बताए।

उनकाअनुसार सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले घाइते भएका व्यक्तिहरुको पुनः उपचारका लागि अस्पतालहरु तोक्ने, ति अस्पतालहरुमा जेन जी क्लिनिक सञ्चालन गर्ने निर्णय गरेको छ।

पुनः उपचारका लागि जाने घाइतेलाई निःशुल्क आवतजावतको व्यवस्था गर्ने निर्णय गरेको छ। घाइते भएका व्यक्तिहरुको उपचारका लागि हट लाइनको व्यवस्था मिलाउनुका साथै सहजीकरणका लागि सम्पर्क व्यक्ति तोकी निजको सम्पर्क नम्बर समेत सार्वजनिक गर्ने निर्णय गरेको छ। घाइते भएका व्यक्तिहरुको वर्गीकरण गर्नका लागि प्राविधिक समिति गठन गरी तत्काल कार्य प्रारम्भ गर्ने निर्णय भएको बताए।

प्राविधिक समितिले वर्गीकरण गरेपछि घाइते भएका व्यक्तिहरुलाई वर्गीकरणको आधारमा उचित राहत दिने निर्णय गरेको छ।

प्रधानमन्त्री सुशीला कार्कीले मुख्य सल्लाहकारमा अजयभद्र खनाल र जनसम्पर्क सल्लाहकारमा गोविन्द नारायण तिमल्सिनालाई नियुक्त गर्ने निर्णय भएको मन्त्री खरेलले जानकारी दिए।