देउवा देश छोडेर भाग्नुपर्ने अपराधी होइन : प्रकाशशरण महत

 संवाददाता    २०८२, १२ आश्विन आईतवार १२:१४     170 जनाले पढ़िसके



Spread the love

नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले कांग्रेसीहरू एकजुट भएर केन्द्रीय समितिमार्फत समाधान खोज्ने कुरामा लाग्नुपर्ने बताएका छन्।

आज आइतबार पत्रकार भेटघाटका क्रममा बोल्दै उनले पार्टीभित्र नेतृत्व परिवर्तनका लागि हस्ताक्षरको कुरा उठेकोबारे कार्यकर्तामा अन्योलता सिजैना गरिएको भन्दै उनले यसबारे केन्द्रीय समितिबाट स्पष्ट पार्नुपर्ने बताएका हुन्।

अधिवेशन प्रक्रियालाई पनि चाँडोभन्दा चाँडो केन्द्रीय समितिले नै सम्पूर्ण प्रक्रिया पूरा गरेर अघि बढ्ने उनको भनाइ छ। पार्टी सभापति शेरबहादुर देउवा लोकतान्त्रिक आन्दोलनका लागि निरन्तर लडेको व्यक्ति भएको भन्दै उनी देश छोडेर भाग्नुपर्ने अपराधी नभएको बताए।

पासपोर्ट बनाएर देशबाट भाग्न खोज्यो भन्ने जस्ता भ्रम फिँजाइएको भन्दै उनले सांघातिक हमला हुने देख्दासमेत घर नछोडेको व्यक्ति भएको बताए। देउवा देश छोडेर भाग्नुपर्ने मानसिकता बोकेको नेता नभएको उनको भनाइ छ।

यस्तो छ महतको भनाइ
अहिले हाम्रो पार्टीभित्र पनि कतिपय साथीहरू देशभर छरिएर रहेका साथीहरूमा अन्योल हुनसक्छ। हस्ताक्षरको कुरा उठिरहेको छ रे, वा के भइरहेको छ रे। अहिले हामीले यि कुराहरूमा ध्यान दिनु हुँदैन। अहिले हामी अफ्ठ्यारो स्थितिमा एकजुट भएर केन्द्रिय समितिमार्फत नै सम्पूर्ण विषयवस्तुमा छलफल गर्ने र सामुहिक निष्कर्ष निकाल्ने र पार्टी पंक्तिमा उत्साह भर्ने काम गर्नेछौँ। अधिवेशन प्रक्रियालाई पनि हामी चाँडो भन्दा चाँडो हामीले केन्द्रिय समितिले नै सम्पूर्ण प्रक्रिया पूरा गरेर अघि बढ्ने कुरामा दुईमत छैन। पार्टी सभापति लोकतान्त्रिक आन्दोलनमा लगातार लड्नुभएको छ। शाही कालमा उहाँलाई अनेकौँ लाञ्छना लगाएर डेमोरलाइज गर्ने कोशिस भयो, उहाँ हुनुभएन। अहिले पनि यस्ता भेटियो, उस्तो भेटियोदेखि लिएर पासपोर्ट लिएर भाग्दै थियो भन्ने अनर्गल प्रचार गरियो। उहाँ कुनै अपराधी होइन, अपराध गर्नुभएको छैन। पासपोर्ट लिने हरेक नेपालीको हक छ। पासपोर्ट लिनु नै अपराध भयो भन्ने जस्तो भाष्य सिर्जना गर्ने कोशिस गरिएको छ। उहाँ देश छोडेर भाग्नुपर्ने मानसिकता बोकेको नेता होइन। उहाँले सांघातिक रुपमा हमला हुने नियोजित कुरा देख्दा देख्दै पनि घर छोड्नुभएन भने उहाँले देश छोड्नुपर्ने कुनै कारण छैन।’