जेनजी आन्दोलनपछि आज पहिलोपटक बस्दै एमाले सचिवालय बैठक

 संवाददाता    २०८२, १२ आश्विन आईतवार ११:२१     177 जनाले पढ़िसके



Spread the love

जेनजी आन्दोलनपछि आज आइतबार पहिलोपटक एमाले सचिवालय बैठक बस्दै छ।

अध्यक्ष केपी शर्मा ओलीको आह्वानमा सचिवालय बैठक दिउँसो १ बजे भक्तपुरको गुन्डुस्थित ओलीको डेरामै बस्ने भएको हो।

बैठकमा आगामी रणनीतिबारे छलफल हुने बताइएको छ।

जेनजी आन्दोलनपछि पूर्वप्रधानमन्त्री ओलीले शनिबार पार्टीको भ्रातृ संगठन राष्ट्रिय युवा स‌ंघले आयोजना गरेको दसैँ भेटघाट कार्यक्रममा उपस्थित भएर पहिलोपटक सार्वजनिक भाषण दिएका थिए।

त्यस क्रममा उनले सुशीला कार्की नेतृत्वको वर्तमान नागरिक सरकार जनताको अभिमतबाट नभई तोडफोड र आगजनीका माध्यमबाट बनेको भनी आलोचना गरेका थिए।

साथै उनले देशलाई अघि बढाउने पार्टी एमाले नै भएको जिकिरसेमत गरेका थिए।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका कारण प्रधानमन्त्री पदबाट राजीनामा दिन बाध्य भएका ओली त्यसबेलादेखि नेपाली सेनाको सुरक्षामा थिए।

त्यसको ९ दिनपछि यही असोज २ गते सेनाको ब्यारेकबाट बाहिरिएर उनी भक्तपुरको गुन्डुस्थित डेरामा सरेका हुन्।