यसपटक कांग्रेसले दसैँको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम नगर्ने

 संवाददाता    २०८२, १२ आश्विन आईतवार ११:१८     169 जनाले पढ़िसके



Spread the love

हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिन नेपाली कांग्रेसले आयोजना गर्ने गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम यसपटक नगर्ने भएको छ।

जेनजी आन्दोलनका क्रममा भएका मानवीय तथा भौतिक क्षतिले देशवासी शोकमा रहेकाले यस वर्ष दसैँको पूर्णिमाका दिन गर्ने गरिएको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम नगर्ने निर्णय गरिएको कांग्रेसले जनाएको छ।

वि.सं. २०३३ मा जननायक बीपी कोइराला निर्वासनबाट राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केको उपलक्ष्यमा कांग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिन चियापान समारोह आयोजना गरी शुभकामना आदान-प्रदान गर्ने गरेको थियो।

‘चाडबाडको समयमा समग्र मुलुकका नागरिकहरू शोकमा डुबेको र हाम्रो पार्टीको केन्द्रीय कार्यालय समेतमा आगजनी गरि ध्वस्त पारिएको अवस्थाको यो विषम परिस्थितिमा हामी देशभक्त नेपाली नागरिकबीच थप राष्ट्रिय एकता र मेलमिलापको आवश्यकता हुनुपर्छ भन्ने तथ्यलाई हृदयङ्गम गर्दै आम नेपाली आमाबुवा दिदीबहिनी तथा दाजुभाइहरू अकल्पनीय शोकमा रहेकोले कोजाग्रत पूर्णिमाका दिन नेपाली कांग्रेसले आयोजना गर्दै आएको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम यस वर्ष (२०८२ साल) आयोजना नगर्ने कुरा यसै विज्ञप्तिमार्फत सबैलाई जानकारी गराइन्छ’, कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ।