डेढ महिनादेखि लमजुङको मर्स्याङ्दी गाउँपालिका-३ स्थित दूधपोखरी कुण्डमा बेपत्ता युवकको शव आज शनिबार फेला परेको छ।
सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले दिएको जानकारीअनुसार क्व्होलासोथार गाउँपालिका-४ भुजुङका १८ वर्षीय मनोज गुरुङको शव डेढ महिनापछि भेटिएको हो।
गत साउन २४ गते जनैपुर्णिमाको मेलाका अवसरमा दूधपोखरीमा नुहाउने क्रममा उनी डुबेर बेपत्ता भएका थिए।
उनको खोजीमा सशस्त्र प्रहरीका ४ जना गोताखोरसहितको टोली एयर डाइनास्टीको हेलिकप्टरमार्फत शुक्रबारदेखि खटिएको थियो।
‘सुरक्षाफौजले आज सडेगलेको अवस्थामा शव निकालेर उनका दाजुको जिम्मा लगाएको हो’, डीएसपी थापाले भने।