रसुवा र तातोपानी नाकामा प्रभावित व्यवसायीले पनि पाए कर्जा पुनर्तालिकीकरणको सुविधा

 संवाददाता    २०८२, १० आश्विन शुक्रबार १५:१८     296 जनाले पढ़िसके



Spread the love

नेपाल राष्ट्र बैंकले रसुवागढी नाका र तातोपानी नाकामा प्राकृतिक प्रकोपका कारण भएको अवरोधमा प्रभावित व्यवसायीलाई पनि कर्जा पुनर्तालिकीकरणको सुविधा प्रदान गरेको छ।

बैंक तथा वित्तीय संस्थाहरुलाई प्रभावको एकनी गरी सशर्त कर्जा पुनर्तालिकीकरण र, वा पुनर्संरचना गर्नसक्ने व्यवस्था गरिएको हो।

असार २४ को बाढीले रसुवागढी र त्यसपछि कोदारी राजमार्गको पहिरोले तातोपानी नाका पूरै ठप्प भएकोमा तातोपानी नाका बल्लतल्ल सञ्चालनमा ल्याइएको छ।

केन्द्रीय बैंकले पुस मसान्तभित्र यो सुविधा उपभोग गर्नुपर्ने उल्लेख गरेको छ। यसरी गरिएका कर्जा असार मसान्तमा रहेको वर्गमै वर्गीकरण हुने र कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्ने भनेको छ।

व्यवसाय सञ्चालनमा नआउँदासम्म बेसरेटमा ०.५ प्रतिशत मात्रै प्रिमियम
यसबाहेक जेनजी आन्दोलनको क्रममा सिर्जना भएको असामान्य परिस्थितिबाट प्रत्यक्ष रुपमा प्रभावित उद्योग व्यवसाय पुनर्स्थापना गरी सञ्चालन गर्न कर्जा प्रवाह गर्दा व्यवसाय सञ्चालनमा आउन लाग्ने समयसम्मका लागि इजाजतपत्रप्राप्त संस्थाले आफ्नो आधारदरमा बढीमा ०.५ प्रतिशत विन्दु प्रिमियममात्र थप गरी कर्जाको ब्याजदर कायम गर्नुपर्ने पनि केन्द्रीय बैंकको निर्देशनमा उल्लेख छ।

यसरी प्रवाह भएको कर्जाको स्वपुँजी अनुपात ८०ः२० भन्दा बढी भएमा सूक्ष्म निगरानी वर्गमा वर्गीकरण गर्नुपर्ने व्यवस्थालाई १ वर्ष छुट दिइएको छ।