गत भदौ २४ गतेको ‘जेनजी’ प्रदर्शनका क्रममा भागेका कैदीबन्दीमध्ये बुधबार एकैदिन ६२८ जना कारागार फर्किएका छन्।
कारागार व्यवस्थापन विभागले आजसम्म सात हजार ७३५ कैदीबन्दी कारागारमा फर्किएका जानकारी दिएको छ।
विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार बुधबार एकैदिन सबैभन्दा धेरै ६२८ जना कैदीबन्दी कारागार फर्किएका हुन्। अधिकांश बैदीबन्दी आफैँ आइरहेका भन्दै कतिपयलाई पक्राउ गरेर ल्याइएको उनले बताए।
गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा १४ हजार ५५६ जना कैदीबन्दी भागेका थिए।
देशभरका कारागारमा ३० हजार ६४० कैदीबन्दी थिए। जेनजी प्रदर्शनका क्रममा यही भदौ २४ गते कारागार तोडफोड तथा आगजनी हुँदा मुलुकभरका कारागारबाट कैदीबन्दी भागेका थिए। नेपालका २८ वटा कारागार र नौ वटा सुधारगृहबाट उनीहरू भागेका हुन्।