शिक्षामन्त्री नियुक्त भएपछि महावीर पुनले मंगलबार तीनवटा निर्देशन दिएका छन्।
देशभरका सामुदायिक विद्यालयमा अनिवार्य कम्प्युटर शिक्षक व्यवस्था गर्ने, विश्वविद्यालयहरूले बढीमा ३ महिनाभित्र परीक्षाफल प्रकाशित गर्नुपर्ने र त्रिभुवन विश्वविद्यालयका झाडी फाँडेर बगैँचा बनाउनुपर्ने गरी निर्देशन दिएको उनले बताए।
उनले सामाजिक सञ्जालमार्फत यो जानकारी दिएका हुन्।
मन्त्री महावीर पुनले लेखेका छन्-
मन्त्रालयमा आज मैले काम तुरुन्त अगाडि बढाउन निर्देशन दिएको ३ वटा सानासाना कदमहरू हेर्नुहोस्-
१) नेपालभरका सामुदायिक माध्यमिक विद्यालयमा पढ्ने विद्यार्थी कम्प्युटर शिक्षाबाट वञ्चित नहुन् भन्ने उद्देश्यले पठनपाठनको लागि हरेक विद्यालयमा एक जना कम्प्युटर शिक्षकको दरबन्दी अनिवार्य थप्नुपर्ने।
२) केही विश्वविद्यालयहरूले परीक्षा लिएर परीक्षाफल निकाल्न ८ महिनादेखि १ वर्षसम्म लगाउँदा रहेछन्। विद्यार्थीहरूको लागि त्यो अपूरणीय क्षति हो। त्यसैले विश्वविद्यालयलाई बढीमा ३ महिनाभित्र अनिवार्य रूपमा परीक्षाफल निकाल्न निर्देशन दिने। समयमा नै परीक्षाफल ननिकाल्ने विश्वविद्यालयहरूको अनुदान रोक्का गरिदिने। राष्ट्रिय परीक्षा बोर्डले १२ कक्षाको ५ लाख विद्यार्थीको परीक्षाफल ३ महिनाभित्रै निकाल्दा रहेछन्।
३) त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरको हाताभित्र ठूलो क्षेत्रफलमा रहेको झाडी फाँडेर (ठूला रुख नकाट्ने) सफा गरी सुन्दर बगैँचासहित फुटपाथ बनाएर विश्वविद्यालयलाई आकर्षक बनाउने।