कांग्रेस विशेष महाधिवेशनको बाछिटा जिल्लातिरः हस्ताक्षर संकलन गर्दै शेखर पक्ष, रोक्न खोज्दै संस्थापन

 संवाददाता    २०८२, ७ आश्विन मंगलवार १९:१८     251 जनाले पढ़िसके



Spread the love

नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको माग गर्ने र त्यसलाई रोक्ने पक्षबीचको ध्रुवीकरण जिल्ला र क्षेत्रीय समितिसम्म आइपुगेको छ। केन्द्रमा नेता डा।शेखर कोइरालासहित महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको मागलाई उरालेसँगै त्यसको बाछिटा जिल्ला तहसम्म पनि आइपुगेको हो।

यही उपक्रममा मंगलबार कास्की क्षेत्र नम्बर १ का सभापति राजेन्द्रमणि लामिछानेले गण्डकीका क्षेत्रीय सभापतिहरूको बैठकको समन्वय गरे। गण्डकी प्रदेशमा कांग्रेसका प्रदेश निर्वाचन क्षेत्र जति नै अर्थात् ६० वटा क्षेत्रीय समिति छन्।

लामिछानेले आह्वान गरेको बैठकमा गण्डकीका केही क्षेत्रीय सभापतिहरू उपस्थित रहे। महाधिवेशनको माग गर्ने केही प्रदेश र लिल्ला समितिका सदस्यहरूकोसहितको उपस्थिति रहेको बैठकले केन्द्रीय समितिसँग तत्काल विशेष महाधिवेशन डाक्न जोडदार माग गर्ने निर्णय गर्‍यो।

बैठकको निर्णयमा भनिएको छ, को निर्णयमा भनिएको छ,‘भाद्र २३ र २४ गतेको जेनजीको आयोजनास्ते देशमा भएको अन्यौलताको विषम परिस्थितिमा नेपाली कांग्रेसले केन्द्रीय बैठक राखी विशेष महाधिवेशन गर्दै पार्टी गतिविधि अगाडी बढाउन केन्द्रीय कार्यसमितिसँग जोडदार माग गर्दछ।’

तर, सो बैठकमा उपस्थिति भने न्यून रह्यो। पार्टीको निर्णय पुस्तिकामा कास्की क्षेत्र नम्बर १ का सभापति राजेन्द्रमणिसहित कास्की २ का सभापति केशवप्रसाद निर्दोषी,३ का सभापति मनोज गुरुङ,तनहुँ १ का सभापति श्यामकुमार मौरती,तनहुँ २ का सभापति चुडामणि खनाल, बागलुङ १ र २ का सभापतिद्वय क्रमश चण्डीप्रसाद शर्मा र जोकलाल बुढा,गोरखा १ का सभापति नारायणप्रसाद लामिछाने, २ का सभापति गोविन्दबहादुर गुरुङ, स्याङ्जा १ का सभापति तुलसीराम रेग्मी,२ का सभापति दीलिपप्रताप खाँण,नवलपुर १ का सभापति अमृत भट्टचन र २ का सभापति ओमबहादुर घर्तीको नाम लेखिए पनि निर्णयमा भने ५ जनालेमात्र हस्ताक्षर गरे।

हस्ताक्षर गर्नेहरूमा राजेन्द्रमणिसहित कास्की २ का सभापति केशव निर्दोषी,तनहुँ १ र २ का सभापति क्रमशः मौरती र खनाल एवं बागलुङका २ का सभापति जोकलाल बुढामात्र रहेका छन्।

कास्की क्षेत्र नम्बर ३ का सभापति मनोज गुरुङको नाम निर्णय पुस्तिकामा रहे पनि उनले त्यसमा हस्ताक्षर गरेका छैनन्। गुरुङ पार्टीमा संस्थापन पक्षधरको रुपमा परिचित छन्। उनले आफू सो बैठकमा नै नगएकोले हस्ताक्षर गर्ने कुरै नभएको बताए।

‘मैले उहाँ (राजेन्द्रमणि) लाई फोन गरेर पार्टी नै संकटमा परेको बेला, सभापति शेरबहादुर देउवा घाइते अवस्थामा अस्पताल नै हुँदा यस्तो गाईजात्रा नदेखाउनुहोस् भनेको हो, उहाँले बैठक राख्नुभएछ,’उनले भने,‘उहाँहरूको निर्णयमा मेरो सहमति छैन। महाधिवेशन आउन कति पो बाँकी छ र? त्यत्ति पनि कुर्न नसक्ने? अहिले संकटको बेला यस्तो किन गर्ने?’

उनले निर्णय पुस्तिकामा हस्ताक्षर नगरेकाहरू बैठकमै नगएको जिकिर पनि गरे।

यसअघि,कांग्रेस कास्कीको १ नम्बर क्षेत्रीय सभापति राजेन्द्रमणि लामिछानेको अध्यक्षतामा मंगलबार बसेको क्षेत्रीय कार्यसमितिले विशेष महाधिवेशन आह्वान गर्नका निन्मि केन्द्रीय कार्यसमितिसँग जोडदार माग गर्ने निर्णय गरेको थियो। कास्की कांग्रेसले पनि यसअघि नै विशेष महाधिवेशनको माग गरिसकेको छ।

पार्टीमा सभापति शेरबहादुर देउवा पक्षधर भनेर चिनिने केही नेता/कार्यकर्ताले चर्को असन्तुष्टि जाहेर गरे पनि कास्की कांग्रेसको क्षेत्रीय समितिले जिल्ला कार्यसमितिले लिएको लाइनमा आफूलाई उभ्याएको थियो।

क्षेत्रीय समापति राजेन्द्रमणि लामिछानेको अध्यक्षतामा मंगलबार बसेको बैठकले सभापति देउवामाथि भएको आक्रमण, पार्टी कार्यालयमा भएको तोडफोड र आगजनीप्रति आपत्ति जनाएको छ।

यस्तै, बैठकले जेनजी आन्दोलन भएका सरकारी र व्यक्तिगत सम्पत्तिमाथिको आगजनी, तोडफोड र लुटपाटको निन्दा पनि गरेको छ।