सिरहामा एक किशोरको हत्या भएको अवस्थामा शव फेला परेको छ। तीन दिनदेखि बेपत्ता भएका गोलबजार नगरपालिका-१३ भेल्हा डंगराहा निवासी संजय सिंहका छोरा १५ वर्षीय अभिषेक सिंहको शव आज बिहान घर नजिकै फेला परेको प्रहरीले जनाएको छ।
किशोरी तीन दिनअघि नै अपहरणमा परेका जिल्ला प्रहरी कार्यालय सिराहाका इन्सपेक्टर धर्मेश यादवले जानकारी दिए।
‘गाउँकै एक आँप बगैंचामा आज बिहान ६ बजेतिर किशोरको शव फेला परेको हो,’ यादवले भने, ‘अहिले घटनास्थलमा अनुसन्धानको लागि डीएसपीको कमाण्डमा कुकुरसहितको प्रहरी टोली खटिएको छ।’
यही असोज ५ गते साँझ उनी घरबाट एकाएक बेपत्ता भएका थिए। भोलिपल्ट बिहान अभिषेककै इमोबाट उनकी आमाको इमोमा उनी अपहरणमा परेको आसयसहित हिन्दी भाषामा म्यासेज आएको थियो। जसमा फिरौतीका लागि पाँच करोड दिन, कसैलाई नभन्न र भनेमा मारेर फ्याँकिदिने धम्की दिइएको थियो।
जसमा लेखिएको थियो, ‘तुमहारा आदमी हमारे पास है। अगर तुमहरा आदमी सही सलामत चाहिए तो ५ करोड रुपैयाँ हमे दो तब हम तुमहरा आदमी तुम्हे देङे । अगर नहि दिया तो मार के फेक दुङ्गा । पुलिसके बताने कि कोशिश कि तो मार के फेक दुङ्गा । हमे २५ तारिक तक पैसा चाहिए नहितो मार ढुङ्गा । तुम्हारे गाउँ मे किसिको पता नहि चल्ना चाहिए । जान्कारी के लिए हम विहार से है । टेन्सन नहि लेना तुम्हरा आदमी सहि सलामत है । बस हमारी माग पुरी कर्दो, हम तुम्हरा आदमी वापस कर्दुङगा।’
फिरौती मागिएको म्यासेज आएपछि परिवारजनले प्रहरीमा जानकारी दिएका थिए। परिवार र प्रहरीले संयुक्त रूपमा अभिषेकको खोजी गरिरहेकै बेला उनको शव फेला परेको हो।