जेन्जी आन्दोलनबाट क्षतिग्रस्त संरचना पुनःनिर्माणका लागि इजरायलमा सांगीतिक कार्यक्रम

 संवाददाता    २०८२, ७ आश्विन मंगलवार ११:१९     166 जनाले पढ़िसके



Spread the love

जेन्जी आन्दोलनका क्रममा नेपालमा जलेका र भत्किएका संरचनाहरू पुनःनिर्माणका लागि इजरायलमा रहेका नेपाली समुदाय जुट्ने भएका छन्। गैरआवासीय नेपाली संघ (एनआरएनए) इजरायलको आयोजनामा आगामी अक्टोबर २४ (भाइटीकाको भोलिपल्ट) तिहार सांगीतिक कार्यक्रम आयोजना गरिने भएको हो।

कार्यक्रममा नेपालका बहुचर्चित गायक शिव परियार विशेष उपस्थित रहनेछ। परियारसँगै इजरायलमै रहेका स्थानीय नेपाली कलाकारहरूले पनि सांगीतिक प्रस्तुति दिने तयारी भएको आयोजकले बताएको छ।

संघका अध्यक्ष गणेश गिरिका अनुसार, ‘यो कार्यक्रम केवल मनोरञ्जनका लागि मात्र नभई राष्ट्र पुनःनिर्माण सहयोगार्थ हो। कार्यक्रमबाट उठेको मुनाफा नेपाल सरकारको आधिकारिक कोषमा जम्मा गरिनेछ, जसले जलेका र भत्किएका संरचना पुनःनिर्माणमा योगदान पुर्‍याउनेछ।’

एनआरएनए इजरायलले यसअघि पनि विभिन्न प्राकृतिक विपत्तिका बेला सहयोग रकम संकलन गरी नेपाल पठाउने परम्परा बनाएको छ। यसपटकको तिहार विशेष सांगीतिक कार्यक्रमलाई नेपाली समुदायबीच ‘मनोरञ्जन र योगदान’ दुवैको अवसरको रूपमा लिइएको छ।

आयोजकहरूले कार्यक्रममा इजरायलमा रहेका सम्पूर्ण नेपाली समुदायलाई सहभागिता जनाइ, संगीतमार्फत आफ्नो मातृभूमिको पुनःनिर्माणमा हातेमालो गर्न आह्वान गरेका छन्।