वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्न नेपाली टोली आज साँझ यूएई जाने

 संवाददाता    २०८२, ६ आश्विन सोमबार १४:०५     173 जनाले पढ़िसके



Spread the love

टेस्ट राष्ट्र वेस्ट इन्डिजसँगको तीन खेलको टीट्वेन्टी शृंखलामा प्रतिस्पर्धा गर्न नेपाली राष्ट्रिय क्रिकेट टोली सोमबार संयुक्त अरब इमिरेट्स (यूएई) प्रस्थान गर्ने भएको छ । नेपाली टोली भिसा समस्याका कारण चार दिन ढिला गरी आज जान लागेको हो ।

यूएईले नेपालीलाई भिजिट भिसा रोकेका कारण खेलाडीले पनि भिसा पाउन समय लागेको थियो । आइतबार भिसा आएपछि नेपाली टोली सोमबार साँझ ७:२५ बजे यूएई जान लागेको हो । यसअघि नेपाली टोली शुक्रबार यूएई जाने तयारीमा थियो ।

नेपाल क्रिकेट संघ (क्यान) ले गत सोमबार रोहितकुमार पौडेलको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको छ । टोलीमा दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, सन्दीप लामिछाने, कुशल भुर्तेल, कुशल मल्ल, लोकेश बम, मोहमद आदिल आलम, आरिफ शेख, सन्दीप जोरा, करण केसी, नन्दन यादव, गुलसन झा, ललितनारायण राजवंशी, सोमपाल कामी र साहब आलम छन् । नेपालले सेप्टेम्बर २७, २९ र ३० मा संयुक्त अरब इमिरेट्स (यूएई) को शारजाह क्रिकेट स्टेडियममा टीट्वेन्टी शृंखला खेल्नेछ ।

नेपालले आईसीसी टीट्वेन्टी विश्वकपअन्तर्गत एसिया छनोटको तयारीका लागि बलियो टोली वेस्ट इन्डिजसँग शृंखला खेल्न लागेको हो । यस शृंखलाजलगत्तै नेपालले आईसीसी टीट्वेन्टी विश्वकप छनोटअन्तर्गत एसिया तथा इस्ट एसिया प्यासिफिकको रिजनल फाइनलमा सहभागिता जनाउनेछ । छनोट प्रतियोगिता अक्टोबर ८ देखि ओमानमा आयोजना हुनेछ ।