शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पदमा आज शपथ खान लागेका वैज्ञानिक महावीर पुनले आफूलाई मन्त्री नभन्न र भन्नै मन लागे ‘कबाडी वैज्ञानिक मन्त्री’ भन्न आग्रह गरेका छन्।
उनले आज सोमबार बिहानै सामाजिक सञ्जालमार्फत बधाई छ भनेर फोन नगर्न र खादामाला लिएर नआउन पनि अनुरोध गरेका छन्। बरु शिक्षा, विज्ञान र प्रविधिको क्षेत्रमा ५ महिनाभित्र गर्न सकिने र गर्नैपर्ने ठोस काम र आइडिया छ भने ह्वाट्सएपमा पठाउन अपिल गरेका छन्।
उनले लेखेका छन्, ‘मेरो पहिलो घोषणा( कसैले पनि लौ बधाई छ भनेर फोन नगर्नुहोला र बधाई दिन खादा, माला लिएर नआउनुहोला। बरु शिक्षा, विज्ञान र प्रविधिको क्षेत्रमा ५ महिनाभित्र गर्न सकिने र गर्नैपर्ने ठोस काम र आइडिया छ भने मेरो ह्वाट्सएपमा पठाउनुहोला। मलाई कसैले पनि मन्त्री नभन्नुहोला। कसैलाई मन्त्री नै भन्न साह्रै रहर छ भने कबाडी वैज्ञानिक मन्त्री भन्नुहोला।’
आखिर उनले आफ्ना लागि कबाडी शब्दको प्रयोग किन गरे?
शब्दकोश पल्टाउँदा अर्थ यस्तो भेटियो:
१. गालेर रूपान्तरण गरेपछि मात्र प्रयोगमा आउने पुराना थोत्रा सामान।
२. थोत्रा सामान बटुलेर लैजाने मान्छे।