भदौ २३ र २४ गते जेनजी आन्दोलनका कारण नेपाली कांग्रेस एकैपटक सत्ता र सांसदविहीन हुन पुग्यो। पार्टी सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य आरजु राणा देउवामाथि त भदौ २४ गते आन्दोलनकारीले मरणासन्न हुने गरी हमला नै गरे। बुढानीलकण्ठस्थित निवास तोडफोड र आगजनी गरी ध्वस्त बनाए। उनीहरूलाई सेना, प्रहरी र केही मनकारी आन्दोलनकारीकै सहयोगमा उद्धार गरियो।
अहिले उनीहरू अस्पतालमा उपचाररत छन्। सभापति देउवाको टाउकाको पछाडि भागमा १२ वटा टाँका लगाएको कांग्रेसले नै जानकारी दिएको छ।
यही बेला नेपाली कांग्रेसमा नेतृत्व हस्तान्तरणको बहस पनि सुरु भएको छ। खास गरी महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले जेनजीको आन्दोलनपछि विशेष परिस्थिति भन्दै विशेष महाधिवेशनको विषय उठाइरहेका छन्।
केन्द्रीय समितिबाट विशेष महाधिवेशनको निर्णय हुने सम्भावना नदेखेपछि उनीहरूले हस्ताक्षर अभियान नै चलाउने तयारी गरिरहेका छन्। ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेर विशेष महाधिवेशन बोलाउन सक्ने व्यवस्था छ।
भ्रष्टाचार अन्त्य, सुशासन र नेतृत्व परिवर्तनका लागि कुरा उठाए पनि टुंगोमा पुर्याउन नसकेको भन्दै महामन्त्री थापाले त आत्मआलोचना नै गरिसकेका छन्।
‘हामीले सही कुरा उठायौँ तर टुंगोमा पुर्याउन सकेनौँ, त्यही हाम्रो सबभन्दा ठूलो कमजोरी भयो। तर अब छाड्दैनौँ,’ थापाले भने।
उनले ०४६ सालयता सरकारी निकायमा जोडिएका सबैको छानबिन गर्न पनि प्रस्ताव गरेका छन्।
पार्टीले यो समयमा के गर्ने भन्ने प्रश्न गर्दै उनले त्यसको निकास पनि सुझाएका छन्।
‘यो बेलामा हामी पार्टीले के गर्ने हो? यत्रो उथलपुथल भएको छ। हामी पार्टीलाई जस्ताको त्यस्तै राखेर हुन्छ? राखेर टिकाउन सक्छौँ? राख्ने प्रयत्न गर्न हुन्छ? यत्रो उथलपुथल भइसकेपछि यो आन्दोलनमा व्यक्त भएको भावना बुझ्न सक्ने पार्टी बनाउनु छकि छैन? छ,’ थापाले भनेका छन्, ‘पार्टीको रुपान्तरण र परिवर्तन नगरी यो सम्भव छैन। यो पटक छोड्दैनौँ। यो बेलामा गर्ने भनेको पार्टीको व्यापक पुनर्गठनका लागि पार्टीको अधिवेशन यो बाहेक हामीसँग विकल्पै छैन।’
नियमित महाधिवेशन या विशेष महाधिवेशनमध्ये एउटालाई तत्काल अघि बढाउन थापाले प्रस्ताव गरेसँगै पार्टीमा उनको विपक्षमा खासगरी सभापति देउवानिकट नेताहरू उत्रिसकेका छन्।
पार्टी उपसभापति पूर्णबहादुर खड्काले त अहिले विशेष महाधिवेशनको कुरा गर्ने समय नै नभएको भनिदिए।
पार्टीको हालै भएको कार्यसम्पादन समिति बैठक उनकै संयोजकत्वमा बसेको थियो। उक्त बैठकमा उनले निर्णय नै गराए– सभापति स्वास्थ्यलाभ गरेर नफर्केसम्म कार्यवाहक कसैलाई नदिने र विशेष महाधिवेशनबारे अहिले छलफल नगर्ने।
अस्पतालबाटै नेतालाई फोन हान्दै आरजु
पार्टीभित्र महामन्त्री थापासहितले विशेष महाधिवेशनको कुरा लगातार उठाउन थालेपछि अस्पतालबाटै देउवा दम्पती सक्रिय भएका छन्। खासगरी केन्द्रीय सदस्य आरजु राणा अहिले नेताहरूलाई फोन गर्न व्यस्त छिन्।
आइतबार साँझ मात्रै उनले कार्यसम्पादन समितिका एक सदस्यलाई फोन गरेकी थिइन्।
हिजो साँझ उहाँ (आरजु)को फोन आयो सभापतिकै नम्बरबाट। सुरुमा सन्चोबिसन्चोबारे कुरा भयो। मैले पनि सभापति र उहाँको स्वास्थ्यका विषयमा सोधेँ,’ नेता गोपालमान श्रेष्ठले भने, ‘अनि उहाँले अहिले विशेष महाधिवेशनको कुरा निकालेर घाउमा नुन छर्ने काममा नलाग्नू, भोलि पार्टीमा सभापतिजीको उत्तराधिकारी त तपाईंहरू नै त हो नि। अब उहाँ (शेरबहादुर) पनि ठीक हुँदै हुनुहुन्छ। पार्टीलाई कसरी लैजाने, के गर्ने भन्ने त त्यसपछि छलफल गरौँ न। तपाईंहरूले यसरी नै सहयोग गर्नुपर्यो भन्नुभयो’ मैले पनि हस् भनेँ, अरु के भन्नु र!’
असोज ३ गते कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्यो। उक्त बैठकको अघिल्लो दिन पनि आरजुले सभापति लड्नका लागि तयारी गरिरहेका, आफूलाई नै उत्तराधिकारी बनाइदिन भन्दै देउवाका धाइरहने नेताहरूलाई फोन गरेकी थिइन्।
आरजुले अर्का पूर्वपदाधिकारीलाई पनि उत्तराधिकारी तपाईं नै हो भनेकी छन्।
फोन आएको बताउँदै ती पूर्वपदाधिकारीले भने, ‘विषम परिस्थिति आइपर्यो। हामी अस्पतालमै छौँ। पार्टीमा यही फाइदा उठाउँदै विशेष महाधिवेशनको कुरा उठिरहेको सुनेका छौँ। तपाईं भोलि उत्तराधिकारी हुने मान्छे, सभापति यस्तो घडीमा हुँदा विशेष महाधिवेशन भनेर उहाँलाई फाल्न लाग्नुहुन्छ भन्ने मलाई लाग्दैन। त्यहीअनुसार सहयोग गर्नुस्।’