आजदेखि सार्वजनिक सवारी साधनमा रुट परमिट खुला

 संवाददाता    २०८२, ६ आश्विन सोमबार १०:३८     155 जनाले पढ़िसके



Spread the love

आजदेखि यात्रुवाहक सार्वजनिक सवारी साधनमा रुट परमिट खुला भएको छ।

सार्वजनिक यातायातलाई चाडपर्वको बेलामा सहज ढंगले सञ्चालनका लागि आजदेखि देशभरको लागि रुट परमिट खुला गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महाससंघका अध्यक्ष विजयबहादुर स्वाँरले जानकारी दिए।

यही असोज १ गते यातायात व्यवस्था विभागमा बसेको सरोकारवालाहरुको बैठकले आजदेखि यही असोज २२ गतेसम्म रुट परमिट खुला गर्ने निर्णय गरेको थियो।

रुट परमिट खुला भएसँगै आजदेखि रुट नलिइन सार्वजनिक यातायातका साधन गन्तव्यस्थलसम्म जान पाउने छन्। तर, कुनै सडक विशेष प्रकृतिको भए सो सडकमा चल्न निषेध गरिएका आकार प्रकारका सार्वजनिक सवारी साधनलाई भने सो बन्देज कायमै राखिएको छ।

सार्वजनिक सवारी साधनमा यात्रा गर्दा अनिवार्य रुपमा टिकट लिन पनि महासंघले यात्रुहरुलाई आग्रह गरेको छ।

विभागले यातायात आवागमन सहज बनाउन खाद्यान्न लगायतका अत्यावश्यक वस्तुको ढुवानी गर्ने बाहेकका ट्रेलरलगायतका ठूला सवारीसाधन आजदेखि पूर्णिमासम्म नारायणघाटदेखि काठमाडौँसम्म सञ्चालन गर्न रोक लगाएको छ।

स्वाँरले अनधिकृत काउन्टर, परिचयपत्र, पोसाक नभएका व्यक्तिबाट टिकट खरिद नगर्न पनि यात्रुहरुलाई आग्रह गरेका छन्।