काठमाडौं – नेपालीहरूको महान चाड बडा दसैं आजबाट सुरु भएको छ ।प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु भएर आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामसँग मनाइने दसैंको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापना सहित घटस्थापना गरिँदैछ ।
घरको पूजा कोठा वा दसैं घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ गरिन्छ । आज बिहानै नित्यकर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दसैं घरमा विधिपूर्पक राखेर त्यसमाथि यव अर्थात् जौँ रोप्ने गरिन्छ । यस कार्यलाई जमरा राख्ने पनि भनिन्छ ।
आजदेखि नौ दिनसम्म देवीको आरधना गरी १० औं दिन विजया दशमीको दिन प्रसाद मानेर जमरा लगाउने गरिन्छ । घटस्थापनाको साइत बिहान ९:१३ मिनेटमा तय गरिएको छ । बिहान ९:१३ समय घटस्थापनाको लागि शुभ समय निर्धारण गरिएको भएपनि आफ्नो अनुकुल घ्टस्थापना गर्न सकिने विभिन्न पुरोहित र धर्मशास्त्रीहरुले बताएका छन।
केही व्यक्तिले सामूहिक र देवी मन्दिरमा पनि घटस्थापना गर्ने गर्दछन् । आजदेखि नौ दिनसम्म महाकाली, महालक्ष्मी, र महासरस्वती माताको विशेष आरधना गर्ने गरिन्छ ।
आजदेखि उपत्यका र देशभरका देवी मन्दिरमा दर्शनार्थीको घुँइचो लाग्ने गर्दछ । काठमाडौंको गुहेश्वरी, दक्षिणकाली र उपत्यकाभित्रका देवी मन्दिरमा दर्शनार्थी परिक्रमा दर्शन गर्ने गर्दछन् ।