नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले आफ्नो अभिभावक आक्रमणमा परी अस्पतालमा उपचार भइरहेका बेला पार्टीभित्र सुरु गरिएको बहस जायज नभएको टिप्पणी गरेका छन्।
डा महतले आइतबार पत्रकार सम्मेलन गर्दै जेनजी आन्दोलनका क्रममा कुटपिटबाट घाइते पार्टी सभापति शेरबहादुर देउवा उपचारमा रहेका बेला कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनमार्फत नेतृत्व परिवर्तन गर्न गरेको प्रस्तावविरुद्ध आक्रोश पोखेका हुन्।
‘अभिभावकमाथि सांघातिक प्रहार हुँदा उपचार पूरा हुँदासम्म पनि पर्खन सक्दैनौ? आकाश झरिहाल्छ’, महतले भने, ‘अवश्य पनि पार्टीका संरचनामा छलफल गर्छौं। घटनाको मूल्यांकन पनि गर्छौं र सुधार पनि गर्छौं।’
उनले अघि भने, ‘त्यसका लागि पनि नपर्खने? कार्यसम्पादन समितिबाट आधिकारिक निर्णय भएको छ, त्यसभन्दा बाहिरबाट जुन छलफल थाल्नुभएको छ, त्यसले पार्टीलाई राम्रो गर्दैन।’
गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले बुढानीलकण्ठस्थित घरमै पसेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी तथा तत्कालीन परराष्ट्रमन्त्री डा आरजु राणा देउवालाई कुटपिट गरेका थिए। देउवाको गर्धनमा गम्भीर चोट लागेको छ भने लगाइएको छ।
हाल देउवा दम्पती सेनाकै सुरक्षामा रहेर उपचाररत छन्।