नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले जेनजी पुस्ताका युवाहरूको माग बमोजिम प्रत्यक्ष कार्यकारी प्रमुखको व्यवस्थासहित संविधानको पुनरावलोकन गर्नुपर्ने बताएका छन् ।
संविधानकै मर्म अनुसार संविधान पुनरावलोकन गर्नुपर्ने समय आएको बताए । शुक्रबार नेपालको संविधान २०७२ जारी भएको १० वर्ष पूरा भई ११ वर्षमा प्रवेश गरेको अवसरमा उनले शुभकामना सन्देश जारी गर्दै यस्तो बताएका हुन् ।
उनले भने,’संविधानकै मर्म अनुसार संविधान पुनरावलोकन गरिनुपर्दछ । संविधानलाई सर्वस्वीकार्य बनाउन जरुरी छ ।’
जनताले आफ्ना अधिकार उपभोग गर्न नपाएको उल्लेख गर्दै राजनीतिक पार्टी र शासकीय असक्षमताका कारण संविधान दिवस खण्डहरमा मनाउनुपरेको समेत नेता शर्माले बताए ।
ठुलो त्याग र बलिदानबाट निर्मित संविधानले सङ्घीयता, धर्मनिरपेक्षता,गणतन्त्र, लोकतन्त्र, समानुपातिक समावेशिता र सामाजिक न्यायसहित जनताको मौलिक अधिकारलाई आत्मसात गरेको भएपनि त्यसको पूर्ण रूपमा कार्यान्वयन भने हुन नसकेको उनले बताए ।
उनले संविधानका धाराहरूलाई कार्यान्वयन गर्ने संस्थाहरू पारदर्शी र बलिया बनाउनुपर्नेमा जोड दिए ।
संविधान निर्माणदेखि कार्यान्वयनको चरणसम्म जनताको प्रतिनिधिको दृष्टिले कमजोरीहरूलाई स्वीकार गर्दै नेता शर्माले क्षमा समेत मागेका छन् ।
उनले भनेका छन्,’थुप्रै अधिकारका बाबजुत प्रत्यक्ष कार्यकारीको शासकीय स्वरूप नहुँदा, राजनीतिक अस्थिरता जनताले खेपिरहँदा, नेपाल सुहाउँदो आर्थिक प्रणाली स्पष्ट मार्ग निर्देशन नहुँदा, भ्रष्टाचारकाविरुद्ध कडा व्यवस्था नहुँदा, शासकहरू जनजीविकाका सवालमा गम्भीर नबन्दा, कमिसनतन्त्र, दलालीतन्त्रबाट जनतामा निराशा छाएको छ । उक्त निराशा जेनजीले आन्दोलनमार्फत अभिव्यक्त गरे ।’
वर्तमान सरकारलाई समयमै निर्वाचन सम्पन्न गराउनका लागि सहयोग गर्न जरुरी रहेको समेत उनले बताए । सरकार,राजनीतिक दल, आम नागरिक सबैले पार्टी स्वार्थभन्दा माथि उठेर देशभक्त,लोकतान्त्रिक शक्तिहरू राष्ट्रियताको रक्षाका लागि आपसी सहकार्य गर्नु अपरिहार्य रहेकोमा नेता शर्माले जोड दिए ।
राष्ट्रभन्दा अरू कुरा ठुला हुन नसक्ने समेत उनले बताए । अन्तरिम सरकारले गत भदौ २३ गतेको नरसंहारको यथाशीघ्र छानबिन आयोग र भौतिक क्षति गर्नेहरूलाई कारबाही गर्नुपर्ने समेत नेता शर्माले बताए ।
विगतमा राज्यका विभिन्न ओहोदामा रहेकाहरूको सम्पत्ति छानबिनका लागि आयोग बनाउन समेत उनले माग गरे ।
अन्योलता र निराशा चिर्दै संविधानकै जगबाट आशा र विश्वासका साथ राष्ट्रिय पुनर्निर्माणमा जुट्न उनले सम्पूर्णमा अपिल समेत गरे ।