चितवनमा जापानिज इन्सेफलाइटिसबाट संक्रमितमध्ये ३१.२५ प्रतिशतको निधन

 संवाददाता    २०८२, ३ आश्विन शुक्रबार १४:१३     178 जनाले पढ़िसके



Spread the love

जापानिज इन्सेफलाइटिस (जेई)बाट संक्रमित भएकामध्ये चितवनमा ३१ दशमलव २५ प्रतिशतको निधन भएको छ । भरतपुरको जनस्वास्थ्य कार्यालयले शुक्रबार जारी गरेको विवरणमा जिल्लामा कुल १६ जनालाई जेई संक्रमण भएको उल्लेख छ, जसमध्ये पाँचजनाको निधन भएको छ । जेई संक्रमितमध्ये ३० प्रतिशतसम्म मृत्यु हुने अनुमान थियो, तर चितवनमा यो संख्या केही बढी देखा परेको छ ।

जनस्वास्थ्य कार्यालयका भेक्टर (किट) कन्ट्रोल निरीक्षक राम केसीले भदौ २० सम्म संक्रमित हुनेको संख्या १६ पुगेको बताए । ती संक्रमितमध्येकै एक जनाको भदौ २१ गते मृत्यु भएपछि यस आर्थिक वर्षमा साउनयता जेईबाट निधन हुनेको संख्या पाँच पुगेको उनले जानकारी दिए ।

उनले भने, ‘नमुना काठमाडौँ पठाएका छौँ तर भदौ २० गतेयता परीक्षणको रिपोर्ट आइपुगेको छैन । पहिल्यै संक्रमित पुष्टि भएका मध्ये भदौ २१ गतेयता कसैको निधन भएको छैन ।’

चितवनमा भरतपुर महानगरपालिकामा ६ जना, खैरहनीमा चारजना, माडी र रत्ननगर नगरपालिकामा एक–एक जना, तथा राप्ती र कालिका नगरपालिकामा दुई–दुई जना संक्रमित भएका छन् । संक्रमितमध्ये भरतपुर र राप्तीका दुई–दुई जना तथा कालिका नगरपालिकाका एक जनाको निधन भएको छ ।

मृत्यु हुनेमा एक जना ४२ वर्षको, दुई जना ७० वर्षको, एक जना ८१ वर्ष र एक जना ८९ वर्षको रहेका छन् । १५ वर्षमुनिका बालबालिका बढी जोखिममा हुने बताइन्छ । जेई सम्बन्धी स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाले जारी गरेको जानकारीमूलक प्रचार सामाग्रीमा यो कुरा उल्लेख छ ।

चितवनमा संक्रमितमध्ये दुई जना मात्र १५ वर्षमुनिका छन् । १५–६० वर्षका पाँच जना र अरू नौजना ६० वर्षभन्दा माथिका छन् । जापानिज इन्सेफलाइटिस भाइरसले मस्तिष्कलाई संक्रमण गर्छ, जुन संक्रमित लामखुट्टेको टोकाइबाट सर्छ । संक्रमण भएपछि ज्वरो, टाउको दुख्ने, वाकवाकी लाग्ने, वान्ता र कमजोरी देखिने सामान्य लक्षणहरू देखिन्छन् ।

१०२ डिग्रीभन्दा बढी ज्वरो आउनु, टाउको बेस्सरी दुख्नु, शरीरमा कम्पन हुनु, अर्धचेत वा बेहोस हुनु, शरीर कमजोर वा पक्षघात हुनु र कोमामा जानु गम्भीर लक्षण हुन् । गम्भीर अवस्थामा मस्तिष्क सुनिने र ३० प्रतिशतसम्मको मृत्यु हुने परिवार कल्याण महाशाखाले उल्लेख गरेको छ ।

साँझपख र झिसमिसे बिहानीमा बढी सक्रिय हुने क्युलेक्स जातको लामखुट्टेको टोकाइबाट जेई सर्छ । धानखेत, स्थिर पानी भएका ठाउँ, पानी जम्ने क्षेत्र तथा सुँगुर र हाँस फार्म वरिपरि जोखिम बढी हुन्छ । त्यसैले लामखुट्टे नियन्त्रण गर्न र टोकाइबाट जोगिन भेक्टर कन्ट्रोल निरीक्षक राम केसीले सुझाव दिएका छन् । कात्तिक महिनासम्म जेईको जोखिम रहने भएकाले सजगता बढाउन आवश्यक रहेको उनले बताए ।