कानुन अनुसार असार १० भित्र बजेट ल्याउन नसकेको धरान नगरपालिकाले अन्तत: बजेट पास गरेको छ । छैठौ पटक बसेको कार्यपालिका बैठकले असोज ४ गते अर्थात शनिबार १७ औ नगरसभा बस्ने निणर्य गरेको छ ।
बिहिबार बसेको कार्यपालिका बैठकबाट चालु आर्थिक बर्ष २०८२/८३ को नीती तथा कार्यक्रम र बजेट पास गरेको हो ।
बैठकमा स्रोत अनुमान तथा बजेट सिमा निर्धारण समितिले निर्धारण गरेको चालु आर्थिक बर्षको लागी २ अर्ब २० करोड ७४ लाख ५९ हजार बजेट सर्वसम्मत पारित भएको छ भने १७ औ नगरसभाको उद्घाटन असोज ४ गते आहृान गर्ने निणर्य गरेको छ ।
यसअघि भदौ २६ मा नगरसभा गर्ने निर्णय भएपनि जेन–जी आन्दोलनको क्रममा धरानमा भएको तोडफोड, आगजनी र लुटपाटको घटनाले नगरसभा अन्योल बनेको थियो । बैठकमा मेयर हर्क साम्पाङले बाँकी रहेका ९ बटा एजेण्डा प्रस्तुत गरेका थिए । बैठकमा नीति तथा कार्यक्रम संशोधनसँगै राजश्व पुनरावलोकनबारे, बसपार्क सञ्चालनबारेको प्रतिवेदन, सडक उपयोग सेवा शुल्कको ठेक्का , दररेट लगायतका बाँकी रहेका एजेन्डाहरु पारित भएको छ । बैठकमा नगरसभा शनिबार बिहान ८ बजे धरान उपमहानगरपालिकाको परिसरमा गर्ने निणर्य गरिएको हो ।
बैठकमा मेयर साम्पाङले बिपद् कोषमा छुट्ट्याएको ३ करोडबाट फोहोर मैला उठाउनका लागि मिनि टिप्पर किन्नको लागि १ करोड छुट्टाउन राखेको प्रस्ताव पनि कार्यपालिकाबाट सर्वसम्मत पारित भएको छ । त्यस्तै भाद्र २३ र २४ गतेको जेन– जी आन्दोलनको क्रममा शहादत प्राप्त गरेका धरान उपमहानगरपालिका वडा नम्बर ५ आमटार चौरी निवासी साजन मेवाहाङ्ग राईका दुई नाबालक छोराहरुको पठन पाठन लागि राहत स्वरुप उनीहरुको नाममा खाता खोली ५ लाख रुपैयाँ सहयोग गर्ने निणर्य गरिएको छ ।
त्यस्तै अतुलनिय संकटको बेला धरान १० स्थित पुतली लाईनमा रहको भाटभटेनीमा जेन–जी आन्दोलनको क्रममा अराजक समुहले लगाएको आगो नियन्त्रणमा ल्याउन दिन रात खटेर सहयोग गर्ने धरानका बारुण यन्त्रका नगरप्रहरी लाई पनि सम्मान गरिने निणर्य गरिएको छ ।
नेपालको संविधान स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार स्थानीय सरकारले असार मसान्त भित्रमा बजेट निर्माण गरी पास गरिसक्नु पर्ने कानूनी व्यवस्था छ । तर अन्तिम समयमा पनि नगर सभाबाट प्रस्तावित विनियोजन विधेयक र बजेट पारित हुन नसक्दा श्रावण १ गतेबाट बाट धरान उपमहानगरपालिकाको बजेट कानुनी रूपमै बजेटविहीन बनेको थियो । धरानको बजेट शुन्य भएसंगै दुई महिना देखि आर्थिक कारोबार पूर्ण रुपमा ठप्प छ ।