जेनजी आन्दोलनको आडमा परिवर्तनमाथि धावा बोलिँदैछ : सिंह

 संवाददाता    २०८२, २ आश्विन बिहीबार १३:३२     217 जनाले पढ़िसके



Spread the love

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जेनजी आन्दोलनको आडमा राजनीतिक दलहरूले ल्याएका परिवर्तन र उपलब्धिहरूलाई कमजोर बनाउने प्रयास भइरहेको बताएका छन्।

बिहीबार गणेशमान सिंहको २८औँ स्मृति दिवसको अवसरमा आयोजित सभालाई सम्बोधन गर्दै उनले प्राप्त भएका अधिकारहरूलाई सुरक्षित राख्दै त्यसलाई संस्थागत गरेर जनताको चाहनाअनुसार काम गर्नु राजनीतिक दलहरूको जिम्मेवारी रहेको उल्लेख गरेका हुन्।

नेता सिंहले भने, ‘हाम्रो जिम्मेवारी प्राप्त अधिकारलाई सुरक्षित राख्दै त्यसलाई संस्थागत गरेर आम नेपाली जनताको चाहनाअनुसार काम गर्नु हो। अहिलेको जुन जेनजीको प्रदर्शन भयो, आन्दोलन भयो, तर विराटनगरमा कोइराला निवास जल्यो, काठमाडौँमा चाक्सीबारी जल्यो, कृष्णप्रसाद भट्टराईको आश्रम जल्यो, यसले के देखाएको छ भने जेनजीको आन्दोलनको आडमा दल र दलले गरेको योगदान केही होइन भनेर मेटाउन दुष्प्रयास भइरहेको छ। यसको राम्रोसँग छानबिन गरेर यो अलोकतान्त्रिक प्रक्रियामार्फत खेल्न खोज्नेहरूमाथि सरकार सतर्क हुनुपर्छ।’

उनले लोकतान्त्रिक पद्धतिमा जनताले चित्त नबुझाएका कुराहरूमा सुधार गरेर राजनीतिक दलहरू अघि बढ्नुपर्ने बताए। अहिलेको परिस्थितिबाट देशलाई माथि उकास्न अबका दिनमा नेपाली कांग्रेसले नेतृत्व लिएर अघि बढ्ने उनको भनाइ छ। अहिलेको आन्दोलनले जनतालाई केन्द्रबिन्दुमा राखेर अघि बढ्नुपर्ने सन्देश दिएको पनि उनले बताए।

सिंहले जेनजी आन्दोलनको नाममा आगजनी र तोडफोड गर्नेहरूमाथि निष्पक्ष छानबिन गरी कारबाही हुनुपर्ने बताएका छन्। उनले गणेशमान सिंहको घरलाई राजनीतिक व्यक्तित्वहरूले ‘राजनीतिक मन्दिर’का रूपमा लिने गरे पनि अहिले यसलाई आगजनी र तोडफोड गरी नष्ट पारिएकोमा चिन्ता व्यक्त गरे।

उनले जेनजीले इतिहास मेटाउन आन्दोलन नगरेको तर जेनजीको आवरणमा आपराधिक मनसाय बोकेका व्यक्तिहरूले यस्तो क्रियाकलाप गरेको आरोप लगाए । उनले २०४६ सालको परिवर्तन ल्याउनमा चाक्सीबारीले खेलेको भूमिकालाई अहिले जलाइएकोमा दुःख व्यक्त गरे। कृष्णप्रसाद भट्टराईको आश्रम, विराटनगरस्थित कोइराला निवास लगायत कांग्रेसका पुराना र इमानदार नेताहरू बस्ने घरहरू जलाइएको उनले बताए।

सिंहले आफूहरू विधिको शासनका लागि लडेको भन्दै विधिअनुसार आगजनी र तोडफोड गर्नेमाथि कारबाही हुनुपर्नेमा जोड दिए। उनले आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूका परिवारप्रति समवेदना व्यक्त गरे। समयको मागअनुसार दलहरूले आफूलाई संस्थागत गरेर अघि बढ्न जरुरी रहेको बताउँदै उनले शून्य अवस्थामा कसैले पनि केही गर्न नसक्ने बताए।

उनले आगजनी र तोडफोड गर्नेमाथि प्रमाणसहित छानबिन गरी कारबाहीको दायरामा ल्याउन माग गरेका छन्।