सेयर बजार परिसूचक (नेप्से) तेस्रो पटक हल्ट भएसँगै आजको लागि कारोबार बन्द भएको छ।
जेनजी प्रदर्शनपछि २४ गतेदेखि बन्द रहेको सेयरबजार आजबाट कारोबारमा आए पनि एकपछि अर्को नकारात्मक सर्किट लागेसँगै बन्द भएको हो।
प्रदर्शनले अर्थतन्त्रमा ठूलो नोक्सान पुर्याएपछि त्यसको असर बजारको कारोबारमा देखिएको हो।
बिहीबार कारोबार सुरु भएको २ मिनेटमै ४ प्रतिशतले नेप्से घटेर २० मिनेटका लागि कारोबार रोकिएको थियो। २० मिनेटपछि खुलेको बजारमा पुन: १ प्रतिशतले ऋणात्मक वृद्धि भई ५ प्रतिशत पुगेपछि नेप्सेले पुन: ४० मिनेटका लागि बजार बन्द गरेको थियो।
तर ४० मिनेटपछि खुलेलगत्तै पुन: १ प्रतिशत ऋणात्मक वृद्धि हुँदा नेप्सेको समग्र गिरावट ६ प्रतिशत पुग्यो। योसँगै आजका लागि कारोबार बन्द गरिएको हो।
बजारमा ठूलो गिरावट वा वृद्धि देखिँदा लगानीकर्तालाई सम्हालिने मौका दिनकै लागि नेप्सेले ब्रेकरको व्यवस्था गर्दै आएको छ। यद्यपि आजको बजारले भने तीनवटै ब्रेकर पार गरेको हो।
यो अवधिसम्म लगानीकर्ताले ७२ करोडको मात्रै सेयर कारोबार गरेका छन् भने सबैभन्दा धेरै व्यापार समूहको सूचकमा गिरावट देखिएको छ।
यो समूहको ९.३४ प्रतिशतले सूचक घट्दा अरु सबै समूहको सूचकमा गिरावट देखिएको हो।
समान्यतया सरकार परिवर्तन हुँदा, अर्थतन्त्रमा प्रभावपर्ने ठूलाखालका परिवर्तनहरु तथा उतरचढाव हुँदा र नीतिगत परिवर्तन हुँदा बजारले यस्तो प्रवृति देखाउने गर्छ।
जेनजी प्रर्दशनले ठूलो आर्थिक नोक्सानी गरेको नकारात्मक असर बिहीबारको बजारमा देखिएको हो।
अर्थतन्त्र दशकअगाडिको अवस्थामा पुगेको भन्दै यतिबेला लगानीकर्ताहरु बजारबाट स्टपलस गरेर निस्किने क्रममा देखिएका छन्। बजारमा ठूलो मात्रामा सेयर बिक्रीमा राखिएपछि समग्र सूचकमा गिरावट देखिन पुगेको हो।
लगानीकर्ताले यो दिन सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको सेयर बिक्रीमा राखेका छन् ।