मन्त्रालयहरु र यिनै मातहतका निकायमा शून्य सहनशीलताको नीति ल्याउँदै कुलमान घिसिङ

 संवाददाता    २०८२, ३० भाद्र सोमबार १५:३३     194 जनाले पढ़िसके



Spread the love

ऊर्जा, जलस्रोत तथा सिँचाइसहित तीन मन्त्रालयको नेतृत्व पाएका मन्त्री कुलमान घिसिङले मन्त्रालयहरु र यिनै मातहतका निकायमा शून्य सहनशीलताको नीति लिने बताएका छन्।

भ्रष्टाचार र अनियमितता नियन्त्रण जेनजीको माग भएको बताउँदै उनले यसको निर्मूल अन्त्य गर्ने दाबी गरेका हुन्। मन्त्रालयमा पदभार ग्रहणपछि उनले यसो बताएका हुन्।

‘मन्त्रालय र मातहतमा शून्य सहनशीलता अवलम्बन गरिनेछ। त्यस्तो कार्य गरेको पाइए तत्काल कारबाही गरिनेछ’, उनले भने, ‘भ्रष्टाचार नियन्त्रण होइन निर्मूल गरिनेछ। कसैले पनि कुनै पनि निकायले भ्रष्टाचार र अनियमितता गरेको भेटिए कडा कारबाही। यो नै हाम्रो दायित्व हो। अहिलेको आन्दोलनको विषय पनि भ्रष्टाचार र सुशासन नै थियो।’

उनले आफ्नो पारदर्शितामा प्रश्न उठ्यो भने सिधै भन्न पनि आग्ह गरे । ‘मलाई सिधै भन्नुहोला। ठूलो चुनौती लिएर आएको छु। त्यसको सामना गर्छु भनेर आएको छु।’